तपाईँ सुन्दै हुनुहुन्छः

‘स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ’

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सत्ता गठबन्धनमै रहने भएको छ । लोसपाका अध्यक्ष महन्थ ठाकुरले राजनीतिक स्थिरता र विकासका लागि आफ्नो पार्टी निश्चित समयसम्म गठबन्धनमा रहनुपर्ने आवश्यकता औँल्याउनुभयो ।

लोसपाका शीर्ष नेताहरूको बैठकले पाँचदलीय सत्ता गठबन्धन नेतृत्वको सरकारमा सहभागी हुनेबारे समान धारणा बनाएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सत्तामा गए पनि नगए पनि गठबन्धन कायम होस् भन्ने हाम्रो भावना छ । सत्तामा सहभागी हुनु ठूलो कुरा होइन, कमसेकम राजनीतिक अस्थिरताले विकासको काममा असर पर्छ, त्यसैले  स्थिरता र विकासका लागि निश्चित अवधिसम्म गठबन्धन रहनुपर्छ ।”

उहाँले कोभिड–१९ महामारी लगायतका कारण जुनसुकै सरकार बने पनि राजनीतिक स्थिरता र मुलुकको समग्र आर्थिक विकासमा केन्द्रित हुनुपर्ने आवश्यकतामा जोड दिनुभयो ।

अध्यक्ष ठाकुरले सत्ता गठबन्धनमा सहभागी हुनेलगायत समसामयिक विषयमा आज साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग कुराकानी हुने पनि जानकारी दिनुभयो । हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको अन्तिम मतपरिणाम आजै सार्वजनिक हुने र त्यसपछि नयाँ सरकार गठनका लागि दलहरूले पहल कदमी अघि बढाउने बुझिएको छ ।

लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारीले सत्ता गठबन्धनमा सहभागी हुनेबारे पार्टीका शीर्ष नेताहरूको बैठकले निर्णय गरिसकेको बताउनुभयो । उहाँले भन्नुभयो, “हिजो हामी निर्वाचनमा पनि गठबन्धन गरेर गएका थियौँ, अहिले निर्वाचनपछि पनि स्वाभाविक रुपमा सत्ता गठबन्धनमा रहन्छौँ, नयाँ बन्ने सरकारलाई लोसपाको समर्थन रहन्छ ।”

सत्ता गठबन्धनमा सहभागी हुनेबारे औपचारिक निर्णय गर्न लोसपाको छिट्टै कार्यकारिणी समितिको बैठक बोलाइएको पनि नेता भण्डारीले जानकारी दिनुभयो । लोसपाको कार्यकारिणी समितिको बैठक पुसको पहिलो साता बस्ने जनाइएको छ । लोसपाले प्रतिनिधिसभामा चार सिट जितेको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button