तपाईँ सुन्दै हुनुहुन्छः

बाँदरको आतङ्कबाट किसानहरू निराश

सोलुखुम्बु । सोलुखुम्बुको कृषि उत्पादनको मुख्य क्षेत्र मानिने विभिन्न क्षेत्रमा बाँदरले हैरानी बनाउँदा किसानहरू आवादी जग्गा बाँझै राख्ने मनस्थितिमा पुगेका छन् ।

खेतीपातीको राम्रो क्षेत्र मध्येका एक थुलुङ दुधकोशी गाउँपालिका ८ रणेम क्षेत्रका किसान बाँदर आतङ्कका कारण हैरान भएको बताउँछन् । केही वर्षयता सो क्षेत्रमा बढेको बाँदर आतङ्कका कारण किसानलाई आक्रान्त बनाएको छ । रणेम दिप्लीका कृषकहरूका लागि यतिखेर मुख्य चुनौती बाँदर बनेको छ ।

झरी, घाम पानी नभनी लगाएको बालीमा कृषकले अहिले दैनिक बाँदरको आतङ्क सहन कृषक बाध्य रहेको स्थानीय निर कुमार राईले बताउनुभयो । जङ्गलबाट रातो बाँदरको ठूलो हुल आएर केरा, सुन्तला लगायतका फलफूलदेखि अन्नबालीहरू समेत सखाप पार्ने गरेको दिप्लीकै रत्नकुबिर राईको गुनासो छ ।

दूधकोशीवारी रहेको यो क्षेत्रलाई माप्यदूधकोशी गाउँपालिकाको वाकुसँग जोड्न इङ्खु खोलामा पुल थापेसँगै वाकु जङ्गलको बाँदरहरू दिप्ली क्षेत्रमा प्रवेश गरेको किसानहरू बताउँछन् । जङ्गलबाट आएका बाँदरहरूले सुन्तला, कोदो, धान, दाल, मास, भटमास लगायतका बाली सखाप पार्नुका साथै घरभित्र समेत प्रवेश गर्न थालेको कृषक राजकुमारी राईको भनाइ छ ।

त्यस्तै, सोलुखुम्बुको अन्न भण्डारका रुपमा रहेको नेचासल्यान गाउँपालिकाको नेचा र सल्यानका केही क्षेत्रमा केही वर्षयता बाँदरले हैरान पार्न थालेको स्थानीय किसान बताउँछन् । वर्षभरि दुःख गरेर लगाएको खेती जङ्गली जीवजन्तुले क्षणभरमै सखाप पार्न थालेपछि किसानहरू खेतीयोग्य जमिन नै बाँझो राख्ने मनस्थितिमा रहेको नेचासल्यान १ रुङ्गाका किसान तेजबहादुर बस्नेतले बताउनुभयो ।

जिल्लाका अन्य धेरै स्थानमा समेत रोग किराको प्रकोप र अहिले जङ्गली जीवजन्तुको आतङ्कका कारण किसानलाई खेती किसानी गरेर बाँच्न निकै सकस भएको छ । जसले गर्दा कृषक खेतीप्रति निरुत्साहित बन्दै गएका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button