जनता, नीति निर्माण र विकासका विषयलाई प्राथमिकता दिनुपर्छ : सचिव अर्याल

काठमाडौँ I राष्ट्रिय समाचार समिति (रासस) ले संसदमा रिपोर्टिङ गर्ने समाचारदाताको क्षमता विकास गर्ने उद्देश्यले आज यहाँ ‘संसदीय समाचार सङ्कलन प्रशिक्षण’ कार्यक्रमको आयोजना गरेको छ ।
सो प्रशिक्षणको उद्घाटन गर्दै सूचना तथा प्रविधि मन्त्रालयका सचिव डा। बैकुण्ठ अर्यालले राससले आफ्नो सेवा सगै प्राविधिक पक्षलाई पनि अझै बलियो बनाउँदै लैजानुपर्नेमा जोड दिनुभयो । उहाँले जनताको दैनिकी, नीति निर्माण र विकाससँग जोडिएका विषयभन्दा पनि कहिलेकाँही सामान्य विषयहरू बढी मात्रामा आउने गरेको टिप्पणी गर्नुभयो । सचिव अर्यालले भन्नुभयो, “संसदमा जनप्रतिनिधिले बोलेका विषयलाई जस्ताको तस्तै दिनुपर्छ, ती विषयलाई धरै विश्लेषणसहित आम पाठकलाई बुझाउन सक्नुपर्छ, समाचार एक पक्षीय हुनु हुँदैन ।”
राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले संसदीय रिपोर्टिङ लोकतन्त्रसँग जोडिएको हुँदा संसदमा जाने समाचारदाताले कुनै पनि विचार वा आस्थाभन्दा टाढा रहेर समाचार सम्प्रेषण गर्नुपर्ने बताउनुभयो । राससका महाप्रबन्धक सिद्धराज राईले कर्मचारीको क्षमता विकास गर्ने उद्देश्यले राससले श्रव्य दृश्य, निर्वाचन र संसदीय मामिला लगायतका समसामयिक विषयमा प्रशिक्षण दिँदै आएको जानकारी दिनुभयो । उहाँले राससको समाचारको गुणस्तर र प्रशासनिक सुधार गर्दै राससले २४ घण्टे सेवा सञ्चालन गर्ने तयारी गरिरहेको बताउनुभयो । राससले निर्वाचनको समयमा परीक्षणको रुपमा एक हप्तासम्म २४ घण्टे सेवा सञ्चालन गरेको थियो । राससले गत साउन १ गतदेखि औपचारिकरुपमा श्रव्य दृश्य (भिडियो) सेवा सञ्चालनमा ल्याएको छ । राससको समाचार सामग्रीमा विविधिकरण ल्याउने उद्देश्यले परीक्षण प्रसारणका रुपमा श्रव्य दृश्य सेवा आरम्भ गरिएको हो ।
एक दिवसीय प्रशिक्षणमा इकागज अनलाइन न्यूज पोर्टलका प्रधान सम्पादक हरिबहादुर थापाले ‘संसदीय समाचार सङ्कलनमा सञ्चारकर्मीको भूमिका र चुनौती’, संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले ‘संसद् सञ्चालन प्रक्रिया र प्रेस’ र राससका प्रधान सम्पादक एकराज पाठकले ‘संसदीय समाचार सङ्कलन सम्पादन शाखाका अपेक्षा’ विषयमा प्रशिक्षण दिनुहुने छ ।
त्यसैगरी राससका प्रमुख समाचारदाता उत्तम सिल्वालले ‘संसदीय समाचार सङ्कलन’ र उपप्रमुख समाचारदाता नारायण न्यौपानेले ‘संसदीय समाचार सङ्कलन: अभ्यास र अनुभव’ विषयमा प्रशिक्षण दिनुहुने छ । रासस








प्रतिक्रिया राख्नुहोस्