इलेक्ट्रोनिक पसलमा आगलागी ३० लाखको क्षति

जनकपुरधाम । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नंं ५ महेन्द्रनगरस्थित इलेक्ट्रोनिक पसलमा गएराति आगलागी हुँदा लाखौँको धनमाल जलेर नष्ट भएको छ ।
जनकपुर ढल्केवर सडक खण्डमै पर्ने महेन्द्रनगरको अमर चौकस्थित हिरा इलेक्ट्रोनिक पसलमा आगलागी हुँदा करिब ३० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
राति करिब साढे १२ बजेको समयमा भएको आगलागी बिहान ३ बजेतिर मात्र नियन्त्रणमा आएको थियो । मिथिला नगरपालिका ढल्केवरबाट आएको वारुणयन्त्र, प्रहरी र स्थानीय बाँसीको सहयोगमा आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
धनुषाको मिथिला नगरपालिका वडा नंं २ नक्टाझिज बस्ने हिरा महतोले वर्षौँदेखि सञ्चालन गर्दै आएको सो पसलमा आगलागीबाट करिब ३० लाख भन्दा बढीको ईलेक्ट्रोनिक सरसामानहरू जलेर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीप बहादुर क्षेत्रीले जानकारी दिनु भयो । ।
स्थानीयहरूका अनुसार विद्युत् सर्ट भएर आगलागी भएको अनुमान गरिएपनि अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । आगलागीबाट पसलमा रहेको फ्रिज, एलएडी टिभी, राइसकुकर, ग्याँस चुल्हो, इन्भर्टर, लगायतको सरसामान जलेको छ ।
क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघ महेन्द्रनगरका अध्यक्ष सुरेश प्रसाद यादवले विद्युत् वा इन्भर्टर सर्ट भएर आगलागी भएको हुनसक्ने बताउँदै आगलागी स्थल भएको क्षीरेश्वरनाथ नगरपालिकाको वारुण यन्त्र समयमा नआउनु दुःखद भएको बताउनु भयो । महेन्द्रनगरमा पटक पटक पसलहरूमा विद्युत् सर्ट भएर आगो लाग्ने गरेको छ ।








प्रतिक्रिया राख्नुहोस्