तपाईँ सुन्दै हुनुहुन्छः

‘उच्च सुझबुझ र सुरक्षा सतर्कताले निर्वाचन शान्तिपूर्ण’ 

भोजपुर । मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन भोजपुरमा शान्ति पूर्वक गर्न सफल भएको भन्दै प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले सबै सुरक्षा निकायमा कार्यरत सुरक्षाकर्मीहरूलाई बधाई दिनुभएको छ ।

विगतका निर्वाचनहरूमा हुने गरेको गतिविधिहरू समेत अहिलेको निर्वाचनमा नभएको भन्दै प्रमुख जिल्ला अधिकारी घिमिरेले सुरक्षाकर्मीलाई धन्यवाद दिनुभयो । 

“राज्यले सुम्पिएको जिम्मेवारी हामीले सफलता पूर्वक सम्पन्न गरेका छौ, विशेष गरेर सुरक्षा निकायको उच्च सतर्कता र समन्वयका कारण निर्वाचन अवधिमा त्यस्ता कुनै पनि किसिमका सुरक्षामा चुनौती आउने गतिविधि हुन पाएन ।” उहाँले भन्नुभयो ।

निर्वाचन सुरक्षाका लागि खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीमा कार्यरत सबै सुरक्षाकर्मीहरूको योगदान महन्तपूर्ण देखिएको उहाँको भनाई छ । 

भोजपुरमा निर्वाचन सुरक्षाका लागि सबै सुरक्षा निकाय र म्यादी प्रहरी गरी करिब दुई हजार तीन सय सुरक्षाकर्मी परिचालन गरिएको थियो । 

निर्वाचनलाई सफल बनाउन जिल्लास्थित सुरक्षा निकायले गरेको योगदानका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरले कदर पत्र समेत प्रदान गरेको थियो । 

जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले भौगोलिक विकटता, सडक पहुँच कम लगायतका समस्या हुँदा समेत निर्वाचनका लागि जिल्लाका सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन गरिएको बताउनुभयो । 

उहाँले विगतका निर्वाचनहरूमा भने भोजपुरका घटनाहरू घटेको देखिएको भए पनि मङ्सिर ४ गतेको निर्वाचनमा त्यस्तो घटनाहरू जिल्लाभित्र कतै हुन नपाएको बताउनुभयो ।

सबै पक्षसँग समन्वय गरेर निष्पक्षरुपमा प्रस्तुत हुँदा जिल्लामा कुनै पनि घटना हुन पाएन । अति संवेदनशील क्षेत्रहरूमा प्रहरीलाई नेपाली सेना, सशस्त्र प्रहरी सहितको सुरक्षा घेराले मजबुत बनाएको कारण मतदाताले पनि सुरक्षित महसुस गरेर मतदान गरेको प्रहरी प्रमुख डिएसपी क्षेत्रीले भन्नुभयो ।  

निर्वाचन पर्यवेक्षण समिति (नियोग)का अध्यक्ष गणेश प्रधानले भन्नुभयो, “अहिले भएको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो, सुरक्षा निकायको समन्वय र अन्य सरोकारवाला निकायहरूको पनि सहयोगका कारण जिल्लामा निर्वाचन सफल भएको छ ।” 

निर्वाचनका मत पेटिकाहरू समेत जिल्ला सदरमुकामसम्म ल्याउन विगतमा दुई दिन लाग्ने गरेको भए पनि सुरक्षा निकायको समन्वयमा एकै दिनमा ढुवानी गरी ल्याइएको थियो । 

भोजपुरका जिल्ला न्यायाधीश तथा मुख्य निर्वाचन अधिकृत मणीराम न्यौपानेले भन्नुभयो, “निर्वाचनमा गरिएको प्रचार प्रसारदेखि लिएर चुनावी कार्यक्रमहरू पनि सबै शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ, यसका लागि सबै पक्ष, जिल्लावासी, सुरक्षाकर्मी, राजनीतिक दल लगायतलाई विशेष धन्यवाद दिन चाहन्छु ।” 

भोजपुरमा ८७ वटा मतदान स्थल, १५५ वटा स्थायी र दुई वटा अस्थायी मतदान केन्द्र कायम गरिएका 

थिए । 

जिल्लामा कुल एक लाख २३ हजार तीन सय ७९ जना मतदाता रहेकोमा ६१ हजार आठ सय ५८ मत खसेको थियो । 

मतदान केन्द्र र मतपेटिकाको सुरक्षाको लागि बाहिरी जिल्लाबाट आएका सुरक्षाकर्मी समेत फर्किएका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button