तपाईँ सुन्दै हुनुहुन्छः

कैलालीमा अफ्रिकन स्वाइन फिभरले बङ्गुर फर्म रित्तियो, करिब ९५ लाखको क्षति

धनगढी । कैलालीमा अफ्रिकन स्वाइन फिभरका कारण एउटा बङ्गुर फर्म  रित्तिएको छ भने करिब ९५ लाख बराबरको क्षति भएको छ । 

भजनी नगरपालिकास्थित बडिमालिका कृषि प्रवर्द्धन केन्द्र (फर्म) मा अफ्रिकन स्वाइन फिभरको सङ्क्रमणबाट ४ सयभन्दा बढी बङ्गुर मरेका छन् भने संक्रमण रोकथामका लागि भन्दै फर्ममा रहेका झण्डै ६ दर्जन बङ्गुर नष्ट गरिएको छ । 

फर्मका सञ्चालक जयबहादुर बुढाले सङ्क्रमणबाट ४ सय १२ बङ्गुर मरेका र ७० वटा बङ्गुरलाई जमिनमा गाडिएको बताउनुभयो । 

योसँगै फर्म रित्तिएको छ, अब बङ्गुर व्यवसायमा पुनः फर्किन सक्ने आर्थिक अवस्था नरहेको बुढाको भनाई छ । 

बैङ्कबाट ऋण लिएर बङ्गुर पालन गरिएको बताउँदै बुढाले बङ्गुर फर्म रित्तिँदा ठुलो नोक्सानी भएको पिडा सुनाउनुभयो । उहाँले यसबाट करिब ९५ लाख २० हजार बराबरको क्षति पुगेको जानकारी दिनुभयो ।

असोज पहिलो सातादेखि बङ्गुर मर्न थालेपछि उक्त फर्मलाई निगरानीमा राखिएको थियो । कार्तिक दोस्रो साता तिर पशुपन्छी अन्वेषण प्रयोगशाला धनगढीमा मरेका बङ्गुरको नमुना परीक्षण गर्दा अफ्रिकन स्वाइन फिभरको संक्रमण पुष्टि भएको थियो । 

त्यसैगरी, फर्ममा फिभरको संक्रमण देखिएपछि  फर्म रहेको क्षेत्रलाई सिल गरिएको थियो । 

संक्रमण अन्यत्र फैलिन नदिन भन्दै जनप्रतिनिधि, प्रहरी, व्यवसायी, सरोकारवाला निकायको रोहवरमा फर्मका रहेका ७० बङ्गुरलाई मङ्गलवार नष्ट गरिएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रले जनाएको छ । 

भजनी बजार नजिकै रहेको बडिमालिका कृषि प्रवर्द्धन केन्द्रले जिल्लाभित्र र बाहिर बङ्गुरको पाठा–पाठी, मासुजन्य बिक्री वितरण गर्दै आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button