तपाईँ सुन्दै हुनुहुन्छः

मलको आपूर्ति सहज बनाउन नवनिर्वाचित सांसदको सक्रियता

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर २ बाट विजयी प्रतिनिधिसभा सदस्य (सांसद) अजयकुमार चौरसियाले किसानहरूका लागि मलको आपूर्ति सहज बनाउन सरोकारवाला निकायलाई आग्रह गर्नुभएको छ ।

पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालसहित मल आपूर्ति गर्ने सरोकारवाला अधिकारीहरूसँग आज जिल्ला प्रशासन कार्यालयमा छलफल गर्दै सांसद चौरसियाले किसानहरूले मल अभावका कारण भोगिरहेको समस्यालाई समाधान गर्न तत्काल सहज रूपले उपलब्ध हुने गरी मलको व्यवस्था मिलाउन प्रमुख जिल्ला अधिकारीलाई आग्रह गर्नुभयो ।

अहिले गहुँ र दलहन बालीको सिजन भएको र गहुँको बीउ तथा डिएपी मल नपाएर किसानहरू छट्पटाईरहेको समाचार सञ्चार माध्यमहरूमा सार्वजनिक भएपछि जनप्रतिनिधिहरू जनताको समस्याप्रति सजक भएका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा आज सम्पन्न छलफलमा सांसद चौरसियाले कृषि सहकारी संस्थाहरूले पनि मल वितरणमा बदमासी गरिरहेको किसानहरूको गुनासो रहेकाले त्यस बारे प्रमुख जिल्ला अधिकारी, कृषि सामाग्री र साल्ट ट्रेडिङका कार्यालय प्रमुखहरूको ध्यानाकर्षण पनि गराउनुभएको थियो ।

जिल्ला प्रशासन कार्यालयमा भएको छलफलका क्रममा पर्सा–२ (क) बाट निर्वाचन प्रदेशसभा सदस्य श्याम पटेल र (ख) का प्रदेशसभा सदस्य रमेशप्रसाद कुर्मी लगायतको उपस्थिति रहेको थियो । छलफलमा जिल्लामा मल आपूर्तिमा देखिएको समस्या समाधानका लागि प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालको संयोजकत्वमा अनुगमन समिति गठन गर्ने निर्णय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button