सुदूरपश्चिम प्रदेशसभा प्रत्यक्षतर्फ महिला शून्य
धनगढी । सुदूरपश्चिम प्रदेशसभामा प्रत्यक्षतर्फ महिला (प्रदेश सभा सदस्य) सहभागिता शून्य देखिएको छ । प्रदेश सभा तर्फ ३२ क्षेत्र रहेको सुदूरपश्चिम प्रदेशमा ३० क्षेत्रको अन्तिम मतपरिणाम घोषणा भएको छ ।
बाजुरामा प्रदेश सभा तर्फ २ वटै क्षेत्रको मतगणना अझै भएको छैन । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रदेश सभा सदस्यमा निर्वाचित हुनेमा सबै पुरुष हुनु हुन्छ । यो प्रदेशमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एस लगायतका दलहरूले प्रदेश सभामा महिला उम्मेदवार दिएनन् भने नेकपा एमालेले एउटा क्षेत्रमा महिला उम्मेदवार उठाएको भएपनि हार बेहोर्नु पर्यो। एमालेबाट कैलाली क्षेत्र नं २ को प्रदेश सभा १ मा चुनावी प्रतिस्पर्धामा रहनु भएका कमला वली पराजित हुनु भयो ।
यस्तै नागरिक उन्मुक्तिबाट कचनपुर क्षेत्र २ को १ मा उम्मेदवार रहेकी गीता चौधरी समेत पराजित हुनु भयो । यसरी दुवै महिला उम्मेदवार पराजित भएसँगै सुदूरपश्चिम प्रदेशमा प्रत्यक्षतर्फ महिला सांसद शून्य भएको छ । यो प्रदेशमा काँग्रेसले १८ क्षेत्र, एमालेले ३०, माओवादीले १४, नेकपा एसले ४, नागरिक उन्मुक्तिले ८ क्षेत्रमा उम्मेदवारी दिएका थिए । सुदूरपश्चिम प्रदेशमा नेपाली काँग्रेसले ११, नेकपा माओवादी केन्द्र ८, नागरिक उन्मुक्ति पार्टी ५, नेकपा एमाले ३, नेकपा एकीकृत समाजवादी २ र स्वतन्त्रले १ क्षेत्रमा विजय हासिल गरेको छ।
जसमा काँग्रेसबाट मेघराज खड्का, मानबहादुर रावल (अछाम), पृथ्वीजंगबहादुर सिंह (बझाङ्ग), दार्चुला विक्रम धामी (दार्चुला) शिवराज भट्ट (बैतडी), बेलबहादुर राना, बहादुरसिंह थापा, दिवानसिंह बिष्ट (कचनपुर), प्रकाशबहादुर देउवा, प्रकाश बम, कमल बहादुर शाह (कैलाली) निर्वाचित हुनु भएको छ ।
यस्तै माओवादी केन्द्रबाट झपट साउद, अक्कल रावल (अछाम) भीम भण्डारी (बझाङ्ग), मानबहादुर धामी (दार्चुला), खगराज भट्ट (डडेल्धुरा) शिवसिंह ओली (डोटी), रमेश धामी (कैलाली), ओमविक्रम भाट (कञ्चनपुर) रहनु भएको छ । यसैगरी एमालेबाट बीरबहादुर थापा (कञ्चनपुर), सुरेन्द्र पाल (बैतडी), चक्र मल्ल (डोटी) र नेकपा एसका दिर्घबहादुर सोडारी (कैलाली), प्रकाश रावल (कञ्चनपुर) विजयी हुनु भएको छ ।
यस्तै नागरिक उन्मुक्तिबाट लक्ष्मण किशोर चौधरी, कैलाश चौधरी, घनश्याम चौधरी, रामेश्वर चौधरी, खुशीराम डगौराथारु (कैलाली) र स्वतन्त्र डा.तारा जोशी (डडेल्धुरा) रहनु भएको छ ।








प्रतिक्रिया राख्नुहोस्