तपाईँ सुन्दै हुनुहुन्छः

चर्को ब्याजदर फिर्ता लिन उद्योगी व्यवसायीको माग

जुम्ला । चर्को ब्याजदरले उद्योगी व्यापारी मारमा मात्र नभई विस्थापित नै हुन थालेपछि जुम्ली उद्योगी व्यवसायी विरोधमा उत्रिएका छन् । पहिलो चरणमा चर्को ब्याजदर फिर्ता लिन जुम्लाका उद्योगी व्यापारीले माग गरेका छन् ।

उद्योग वाणिज्य संघ जुम्लाले जिल्ला प्रशासन कार्यालयलाई ज्ञापनपत्र बुझाउँदै चर्को ब्याजदर फिर्ता लिन माग गरेको छ । विभिन्न चार बुँदे माग राख्दै ब्याजदर फिर्ता गर्न दबाब दिएको उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरिचन्द्र देवकोटा बताउनुहुन्छ ।

हाल ऋणीहरूले तिरेको थप व्याज फिर्ता हुनुपर्ने, उद्योगीहरूलाई सहजीकरणका लागि आन्तरिक राजस्व कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयमा हेल्पडेस्क निमार्ण हुनुपर्ने, घरदैलो तथा घुमन्ते व्यवसायहरूलाई नेपाल सरकारको कानुनी दायरामा ल्याउनुपर्ने माग गरिएको छ ।

बैङ्क तथा वित्तीय संस्थाको चर्को ब्याजदरले देशको आर्थिक मेरुदण्डलाई बलियो बनाउने नीजि क्षेत्रलाई निरुत्साहित बनाएको समेत अध्यक्ष देवकोटाको भनाई छ ।

प्रमुख जिल्ला अधिकारीलाई बुझाइएको ज्ञापनपत्रमा भनिएको छ,“विकासोन्मुख अवस्थामा रहेको हाम्रो देश नेपालमा विश्वव्यापी महामारीका रुपमा रहेको कोरोना भाईरस (कोभिड १९) बाट उद्योगधन्दा कलकारखाना थला परेका छन् । मजदुर तथा कर्मचारीहरू कटौती गर्नुपर्ने अवस्था, उत्पादनमा कमी इन्धनमा भएको मूल्यवृद्धिले पीडामा परेका उद्योगी व्यवसायीहरू बैङ्क तथा वित्तीय संस्थाहरूले वृद्धि गरेको ब्याजदरका कारण पिडामा परेको छ ।”

प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीले व्यापारीहरूका माग सम्बोधन गर्न पहल गर्ने बताउनुभएको छ । मुलुकको समृद्धिको मेरुदण्ड नीजि क्षेत्रलाई पर्याप्त ऋण, सस्तो ब्याजदर प्रवाह बिना मुलुक समृद्ध बन्न नसक्ने उहाँको भनाई छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button