तपाईँ सुन्दै हुनुहुन्छः

दार्चुलाबाट मन्त्री बडू प्रतिनिधिसभा सदस्यमा विजयी

दार्चुला। एक मात्र निर्वाचन क्षेत्र रहेको दार्चुलाबाट सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका नेता एवं उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडू प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको छ । उहाँ २३ वर्षपछि प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा विजयी बन्नुभएको हो ।

बडूले २८ हजार पाँच सय १५ मत प्राप्त गर्नुभयो । उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का गणेशसिंह ठगुन्ना २६ हजार तीन सय ८१ मत ल्याएर पराजित हुनुभयो । मुख्य निर्वाचन अधिकृत खेमराज भट्टका अनुसार ८९ हजार एक सय ५४ मतदाता रहेको दार्चुलामा ५८ हजार ५८ मत खसेको थियो ।

मन्त्री बडू एमालेका ठगुन्नाभन्दा दुई हजार एक सय ३४ मत बढी ल्याएर विजयी हुनुभएको हो । पराजित ठगुन्ना यसअघि २०७० र २०७४ मा प्रतिनिधिसभा सदस्यमा विजयी हुनुभएको थियो ।

यस्तै दार्चुलामा प्रदेशसभा (१) मा सत्ता गठबन्धनबाट कांग्रेसका विक्रमसिंह धामी र प्रदेशसभा (२) मा सत्ता गठबन्धनकै माओवादी केन्द्रका मानबहादुर धामी विजयी हुनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button