तपाईँ सुन्दै हुनुहुन्छः

जाजरकोटमा ठुलो मतान्तर सहित सिंह र शाह प्रदेश सभा सदस्यमा निर्वाचित

जाजरकोट । जाजरकोट प्रदेश सभा (क) र (ख) बाट ठुलो मतान्तर सहित बाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी हुनु भएको छ । प्रदेश सभा (क) मा नेपाली काँग्रेसका बेदराज सिंह र प्रदेश सभा (ख) मा काँग्रेसका राजीव विक्रम शाह विजयी हुनु भएको छ । 

सिंहले नेकपा (एमाले)का उम्मेदवार डम्बरबहादुर सिंहलाई ७ हजार ७३ मतले पछि पार्दे विजयी हुनु भएको हो । सिंहले १८ हजार ५ सय ४३ मत ल्याउनु भएको थियो भने एमालेका सिंहले ११ हजार ४ सय ७० मत ल्याउनु भएको थियो । त्यसैगरी प्रदेश सभा ख बाट ठुलो मतान्तर सहित राजीव विक्रम शाह कर्णाली प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका छ । 

शाहले एमालेका खिमबहादुर शाहीलाई ५ हजार ५ सय १० मतको अन्तरले पराजित गर्नु भएको हो । शाहले १६ हजार ४० र शाहीले १० हजार ५ सय ३० मत ल्याएको निर्वाचन आयोगले जनाएको छ । बेदराज सिंह कांग्रेस जाजरकोटका जिल्ला सभापति हुनु हुन्छ भने शाह काँग्रेसका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । 

राजीव विक्रम शाहको परिवार तीन पुस्ता देखि काठमाडौँमा बस्दै आएपनि आफ्नो पुरानो थातथलो जाजरकोट फर्केर समाज सेवाबाट राजनीति यात्रा थाल्नु भएको हो । २०६६ सालमा झाडापखालाको महामारी फैलिदा शाहले हेलिकप्टर मार्फत औषधी र डाक्टर लिएर हजारौँ जाजरकोटवासीको ज्यान बचाउनु भएको थियो । 

सङ्कटको वेला सेवा गरेर आफ्नो पहिचान स्थापित गर्न सफल शाह त्यसपछि भने काँग्रेसमा आबद्ध भएर राजनीतिमा होमिनु भएको हो । कोभिड महामारीको बेला पनि शाहले प्रदेश अस्पताल सहित विभिन्न अस्पताललाई एक करोड रुपैयाँ भन्दा बढीका भेन्टिलेटर सहितका उपकरण र स्वास्थ्य सामाग्री सहयोग गर्नु भएको थियो ।

२०७० सालमा जाजरकोट क्षेत्र नम्बर २ बाट संविधान सभा सदस्य जितेका शाह २०७४ सालमा भने झिनो मतअन्तरले प्रतिनिधि सभा सदस्यमा पराजित भएका थिए ।

प्रतिनिधि सभा सदस्य हुँदा राज्यबाट पाउने सेवा सुविधा आफूले नलिएर जाजरकोटका विपन्न नागरिकको हितमा सहयोग गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button