रुपन्देहीमा विवादका कारण गणना सुरु भएन, दलीय सहमति खोज्ने प्रयास
रुपन्देही । रुपन्देहीका ५ वटै क्षेत्रमा आइतबार रातीबाट नै मतगणना गर्ने तयारी गरिए पनि ३ क्षेत्रमा विवादका कारण गणना सुरु गर्न ढिलाइ भएको छ ।
निर्वाचन कार्यालयले विवाद समाधानको पहल गरेपनि समाधान भएको छैन । रुपन्देहीमा क्षेत्र नं २, ३, र ५ मा मतपेटिका गणस्थलमा लैजाने समय सहमति नगरी लगिएको, सिलबन्दी ताेडिएकाेलगायतका विषयमा विवाद भएको थियो । रुपन्देही २ मा प्रतिनिधि सभाका उम्मेदवार सुन्दर वासीले रातभर जागराम बसेपनि सुरु हुन नसकेको जानकारी दिए ।
निर्वाचन कार्यालयका प्रवक्ता टेकराज पन्थीका कारण केही क्षेत्रमा विवादका कारण गणना सुरु नभएको र अहिले दलीय सहमति गरेर अगाडि बढ्ने तयारी भएको छ । ५ निर्वाचन क्षेत्र रहेको रुपन्देहीमा ५ स्थानमै अलग अलग मतगणना गर्न लागिएको छ ।
यसअघिका निर्वाचनमा सबै निर्वाचन क्षेत्रको मतगणना जिल्ला सदरमुकाम भैरहवामा गरिँदै आएको थियो । निर्वाचन कार्यालय रुपन्देहीका अनुसार क्षेत्र नं १ को मतगणना देवदह क्याम्पस शितलनगरमा, २ को बुटवल उपमहानगरपालिकाको पुरानो प्रशासनिक भवनमा, ३ को भैरहवा नमूना माविमा, ४ को मझगावा मावि मर्चवारमा र ५ को गैडहवा गाउँपालिकाको नयाँ प्रशासनिक भवनमा हुनेछ । रुपन्देहीमा ६६ प्रतिशत मत खसेको छ ।
दलका प्रतिनिधिले गणना हुन नसकेको विषयमा जानकारी नदिएको गुनासो गरेका छन् ।








प्रतिक्रिया राख्नुहोस्