तपाईँ सुन्दै हुनुहुन्छः

सेनाले एक हप्तामै बनायो तीन पुल, मतदानका लागि सहज हुने

जुम्ला । गत असोज १९ देखि २६ गते आएको अविरल वर्षाले कनकासुन्दरी गाउँपालिका ४ हाट सिञ्जामा नदी माथिको काठे पुल बगाएपछि आवतजावत ठप्प भएको थियो ।

पुल बगाएपछि हाट सिंजा स्थित कालिका आधारभूत विद्यालयको मतदान स्थलमा आउजाउ गर्न समेत मुस्किल थियो । तर, वडापालिकाको पहलमा मतदानका लागि खटिएको नेपाली सेना, प्रहरी, म्यादी प्रहरी र स्थानीयको सहयोगबाट एक हप्तामा ३ वटा पुल निर्माण गरिएको छ ।

एक हप्तामै तीन वटा खोलामा काठे पुल निर्माण भएपछि स्थानीयलाई दैनिक आवतजावतसँगै आइतबार हुने निर्वाचनमा मतदान गर्न समेत सहज हुने भएको छ ।

वडापालिकाका अनुसार विशेष गरी नेपाली सेनाको टोलीले पुल निर्माण गर्न सहयोग गरेपछि कनकासुन्दरी ४ कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा जान सहज भएको ४ नम्बर वडाध्यक्ष सूर्यमणि हमालले बताउनुभयो ।

उहाँले भन्नुभयो,“सेना प्रहरी,म्यादी प्रहरीको सहयोगले एक हप्तामा ३७ मिटर लामो ३ वटा काठे पुल निर्माण भएका छन् । पुल नहुँदा वडा कार्यालय, आँखा अस्पताल, पशु, कृषि शाखा, स्वास्थ्य चौकीमा दैनिक आउजाउमा समस्या थियो । आगामी चुनावमा समेत मतदातालाई सकस हुने अवस्था थियो । तर, पुल निर्माण भई सुचारु भएपछि सबै खुसी छौ ।”

नेपाली सेना नन्दाबक्स गण जुम्लाका गणपति रविन थापाले मतदान केन्द्र जाने पुलसहित एकै हप्तामा ३ पुल निर्माण गरी आवतजावतलाई सहज बनाउनु, मतदानलाई सहज बनाउनु नै नागरिक सैनिक सम्बन्ध सुधारमा इट्टा थपिएको बताउनुभयो ।

कालिका आधारभूत विद्यालयको मतदान केन्द्रमा ५९५ जना मतदाता रहेको मतदान अधिकृत हिमालय साउथले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button