तपाईँ सुन्दै हुनुहुन्छः

मधेसका मुद्दा सम्बोधन हुनुपर्छ : अध्यक्ष ठाकुर

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले राज्यबाट सम्बोधन हुन बाँकी मधेसका समस्यालाई आफूले निर्वाचनमा उठान गरेको बताउनुभएको छ ।

महोत्तरी–३ प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार ठाकुरले चुनावी अभियानबीच आज रासससँगको कुराकानी गर्दै नागरिकताविहीन अवस्था आउन नदिन आफूले अनवरत प्रयास गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले संविधान लेखन र घोषणाकै बेलादेखि मधेस मुद्दा सम्बोधन भएन भनेर असहमति राख्दै आएका छौँ । यी मुद्दा पूर्ण सम्बोधन नहोउञ्जेल हाम्रो आन्दोलन जारी रहनेछ ।’

अध्यक्ष ठाकुरका अनुसार यसअघिको सरकारले नागरिकता समस्या सम्बोधनको प्रयत्न गरेको देखाए पनि यसभित्र कुटिल दलीय अहंकारको प्रवेशले समाधान हुन सकेन । आफ्नो दलले यो समस्या यथाशक्य चाँडो सम्बोधन होस् भन्ने चाहिरहेको उहाँको भनाइ छ ।

आफूले निर्वाचन अभियानका क्रममा आम मतदाताबाट उच्च समर्थन पाइरहेको हुँदा जीतमा संशय नरहेको उहाँको भनाइ छ । हालको पाँचदलीय सत्तागठबन्धनका उम्मेदवार ठाकुरका पक्षमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन जनाएका छन् ।

महोत्तरी–३ मा यही मङ्सिर ४ गते सम्पन्न हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन–२०७९ का लागि ९९ हजार नौ सय ३० मतदाता छन् । निर्वाचनमा प्रतिनिधिसभाका लागि यस क्षेत्रबाट तीन महिलासहित २१ उम्मेदवार छन् । यसमा स्वतन्त्रको सङ्ख्या १० छ । क्षेत्रभरिमा ७८ मतदानस्थलमा एक सय २९ मतदान केन्द्र रहेको जिल्लास्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय जलेश्वरले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button