क्षति भएका सडक स्तर वृद्धिका लागि ३ अर्ब ८४ करोड माग

जुम्ला । गत असोजमा भएको अविरल वर्षापछि आएको बाढी पहिरोले कर्णाली समृद्धिको मार्ग, ‘कर्णाली राजमार्ग’ र नेपालकै ठुलो रारा ताल जाने पर्यटकीय मार्ग ‘नाग्म–गमगडी’ सडक पूर्ण ध्वस्त भयो । झण्डै २० दिन कर्णालीमा पूर्ण यातायात बन्द भयो । दैखोला देखि जुम्ला कार्यक्षेत्रको १०४ किमी मध्य झण्डै ६० किमी बढी सडकको कालोपत्रे उप्किनुका साथै सडक चिराचिरा भयो ।
अविरल वर्षाले आएको विशाल पहिरोले राजमार्ग अवरुद्ध मात्र भएन, कति सडक खण्डको सडकको नाम निसान समेत नरहने गरी भत्कियो । जुम्लामा महँगी बढ्नुका साथै खाद्य संकट हुन थालेपछि सडक डिभिजन जुम्लाका जनशक्ति र सेना दिनरात खटिएर अवरुद्ध भएको २० दिनपछि कर्णाली राजमार्गको ट्रयाक खोल्न सफल भए । भने नाग्म गमगडी सडक १८ दिनमा खुल्यो ।
ट्रयाक मात्र खुलेको कर्णाली राजमार्गमा जोखिम मोलेर ठुला माल बाहक तथा यात्रुवाहक सवारी गुडिरहेका छन् । यद्यपि, राजमार्गको अवस्था भने २०६२ सालमा भर्खर ट्रयाक खोलेको भन्दा जोखिमपूर्ण र धुलाम्य छ । कर्णाली समृद्धिको मार्ग कर्णाली राजमार्ग स्तरउन्नती विषयमा अहिले उम्मेदवार देखि अन्य जनप्रतिनिधि गम्भीर चिन्तित देखिएका छैनन् ।
३ अर्ब ८४ करोड माग
उम्मेदवारको चुनावी एजेण्डा समेत बन्न नसकेको बाढी पहिरोले ध्वस्त कर्णाली राजमार्ग र नाग्म–गमगडी सडकको स्तर वृद्धिका लागि सडक डिभिजन जुम्लाले बजेट माग गरेको छ । दुवै राजमार्ग स्तर वृद्धिका लागि ३ अर्ब ८४ करोड बजेट मागको लागि फाइल सडक विभागमा पेश गरेको सडक डिभिजन जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनुभयो । जसमा कर्णाली राजमार्गका स्तर वृद्धिका लागि १ अर्ब ८४ करोड र नाग्म–गमगडी सडकका लागि २ अर्ब बजेट माग गरिएको हो ।
प्रमुख श्रेष्ठले भन्नुभयो,“कर्णाली राजमार्गको अधिकांश भागमा नयाँ ट्रयाक खोल्नु पर्ने छ । पिच उप्किसकेको छ । पक्की वाला निर्माण, नाला निर्माण ग्राभेल तथा कालोपत्रे सहितको स्टमेट गरेर बजेट माग गरेको छु । फाइल विभागबाट अघि बढी सकेको छ । अर्थ मन्त्रालय बाट बजेट स्वीकृति भएपछि ठेक्का खोलेर सडक सुधार कार्य अघि बढाइने छ ।”

अहिले दैनिक सयौँका सङ्ख्यामा सवारी गुडेपनि २३२ किमीको जुम्ला–सुर्खेतको दुरी मुस्किलले २ दिन लगाएर गन्तव्यमा पुग्नु पर्ने अवस्था छ । जबकि ५ घण्टामा हुने यात्रा वर्षौँदेखि राजमार्ग स्तर वृद्धि नहुँदा कर्णालीवासीले यात्राका नाममा सास्ती खेप्दै समेत आएका छन् । तर संघ र प्रदेश सरकार भने कर्णालीका पिडा प्रति सधैँ गैर जिम्मेवार देखिन्छ ।
ग्राभेल सकेर कालोपत्रे गर्ने तयारीमा रहेको नाग्म–गमगडी सडकलाई बाढि पहिरोले पूर्ण कच्ची मात्रै बनाएको छैन । ९३ किमी दुरी रहेको उक्त सडकको अधिकांश भाग भासिएर साँघुरिएको छ । हिउँदमा धुलाम्य र बर्खामा हिलाम्य हुने समस्या उस्तै छ । उक्त सडकलाई पुर्न निर्माणका लागि २ अर्ब लाग्ने देखिएपछि सोही अनुसार बजेट माग गरेको प्रमुख श्रेष्ठले जानकारी दिनुभयो ।
अहिले रारा ताल सिजन हो । दैनिक सयौँ पर्यटक धुलो छिचोल्दै गइरहेका छन् । तर सडक बिग्रिदा पर्यटकका आवतजावत भने प्रभावित भएको छ । पर्यटकीय माग नाग्म–गमगडी सडकको दुरावस्थालाई बदल्न लागि सडक डिभिजन जुटेको छ ।

बाढी पहिरो ध्वस्त कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक स्तर वृद्धिका लागि सडक विभागका डिजीको उल्लेखीय सहयोग साथ रहेको समेत प्रमुख श्रेष्ठको भनाई छ । केन्द्र तहमा कर्णालीका नेताको पहुँच नभएका कारण कर्णाली राजमार्ग मात्र नभई थुप्रै गौरवका आयोजना वर्षौँ देखी अलपत्र छन् ।
मृत्युमार्गको उपनाम पाएको कर्णाली राजमार्ग चाडै स्तर वृद्धि नभए उपनाम थप पुष्टि हुँदै जाने छ । भने कर्णालीले ठुलो क्षति व्यहोर्नु पर्ने स्थिति छ । त्यसैले पनि कर्णाली राजमार्ग र नाग्म–गमगडी सडक सुधारका लागि संघ प्रदेशको ध्यान केन्द्रित हुन जरुरी छ ।








प्रतिक्रिया राख्नुहोस्