तपाईँ सुन्दै हुनुहुन्छः

ठूलो मात्रामा अवैध मदिरा बरामद, दुई जना पक्राउ

जनकपुरधाम । धनुषा प्रहरीले ठूलो मात्रामा अवैध मदिरा बरामद गरेको छ । 

अगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावलाई लक्षित गरी मदिरा बिक्री वितरण, ओसार तथा सेवनमा निषेध गरेको छ । निषेध गरिएको अवधिमा धनुषा प्रहरीले एक ट्रक मदिरा बरामद गरेको धनुषाका प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिनुभयो । 

जनकपुरधाम उप महानगरपालिका वडा नंं २२ बसविट्टीबाट ना ६ ख ६४५३ नम्बरको ट्रकबाट कर्णाली गोल्ड नामक सोफी १ हजार २५ कार्टुन बरामद भएको प्रहरीले जानकारी दिएको छ । 

प्रहरीले गाडीलाई रोकेर चेकजाँच गर्दा सो परिमाणको मदिरा बरामद भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । 

मदिरा र ट्रकसहित मकवानपुरको मनहरी गाउँपालिका वडा नंं ३ बस्ने चालक वर्ष ३४ का निर्मल कुमार रिजाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

मादक पदार्थ सहितको ट्रक र चालकलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषामा बुझाइएको छ ।

यस्तै, प्रहरीले धनुषाको मुखियापट्टी मुसहर्निया गाउँपालिका वडा नंं ४ तुल्सियाहीबाट बी.आर.०७ पी.ए.४५३९ नम्बरको भारतीय स्कार्पियोबाट ४ कार्टुन गोल्डेन ओके र व्रिच नामक बियर एक बोरा बरामद गरेको छ । 

गाडी चालक मुखियापट्टी मुसहर्निया वडा नंं ४ बस्ने वर्ष ३० को साहजन यादवलाई प्रहरीले पक्राउ गरेको छ । 

बरामद मदिरा र गाडीसहित चालक साहलाई आवश्यक कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय धनुषाको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

धनुषा जिल्लामा गत साताको शनिवारदेखि नै मदिराको विक्री वितरण, ओसार पसार तथा सेवनमा निषेध गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button