तपाईँ सुन्दै हुनुहुन्छः

दुई सय ५० वर्षअघि भत्किएको कीर्तिपुर दरबार फेरि बन्दै

कीर्तिपुर I करिब साढे दुई सय वर्षअघि भत्किएर भग्नावशेषसमेत लोप हुने अवस्थामा पुगिसकेको कीर्तिपुर दरबार ९लायकु० पुनः अस्तित्वमा ल्याउने प्रयास सुरु भएको छ । कीर्तिपुरको सर्वाधिक ठूलो र महत्पूर्ण सम्पदा मानिएको लायकु दरबार लामो समयसम्म राज्यबाट ओझेल पर्नुका साथै स्थानीयवासीको अतिक्रमणमा समेत परेर लोप हुने अवस्थामा पुगेको थियो । 

कीर्तिपुर डाँडाको सबैभन्दा अग्लो भागमा रहेको उमामहेश्वर मन्दिरसहितको लायकु दरबारलाई पहिलेकै जस्तो बनाउने माग सम्पदा प्रेमीले विगत तीन वर्षअघिदेखि गर्न थालेका थिए । यसैअनुसार कीर्तिपुर नगरपालिकाले लायकु दरबारको केही भाग बनाउन बजेट छुटाएको थियो । सोहीअनुरूप परम्परागत नेवारी इँटा (दाची अपा) र मध्यकालीन शैलीका झ्याल प्रयोग गरी पुनःनिर्माण गर्न थालिएको छ । 

कीर्तिपुर–१ का अध्यक्ष हीरालाल महर्जनका अनुसार नगरपालिकाले छुट्¥याएको करिब रु तीन करोडको बजेटमा दरबार बन्दैछ । नगरपालिकाले विसं २०७७ मङ्सिरमा लायकु दरबार पुनःनिर्माण गर्ने भन्दै सो सम्बन्धी प्रमाण भए नगरपालिकालाई दिन सार्वजनिक सूचना जारी गरेको थियो । सोहीबमोजिम महर्जनसहितका १६ स्थानीयवासीले लायकु दरबारसम्बन्धी ऐतिहासिक दस्ताबेज र तस्बिर नगरपालिका समक्ष पेस गरेका थिए । 

त्यसमा सन् १८५५ मा नेपाल आएका पश्चिमा यात्री हेनरी वल्डफिल्डले लायकु दरबारको भग्नावशेषसहित तयार गरेको स्केच पनि समावेश छ । पञ्चायती व्यवस्था लागूभएपछि लायकु त्यस क्षेत्रको अग्लो स्थानमा रहेको उमामहेश्वर मन्दिर र आसपासका क्षेत्रलाई समेटेर लायकु गाउँ पञ्चायत बनाइएको थियो । विसं २०५४ मा नगरपालिका बन्दा सो क्षेत्रलाई वडा नं १ र २ कायम गरिएको थियो । 

अहिले बन्न लागेको दरबार पुरानै आकारमा सम्भव नभए पनि त्यसको एक अंश निर्माण हुने जानकारी लायकु दरबारबारे विशेष जानकार शुद्ध रत्न महर्जनले दिनुभयो । “पुरानो दरबार क्षेत्रभित्र २१ निजी घर बनेका छन्”, उहाँले भन्नुभयो । 

महर्जनका अनुसार कीर्तिपुरको दरबार क्षेत्र ९लायकु० नेपाल संवत् ८०१ मा श्री निवास मल्लले निर्माण सम्पन्न गर्नुभएको बताइन्छ । सो दरबार विसं १८२२ मा कीर्तिपुर र गोर्खा फौजबिचको लडाइँमा ध्वस्त भएको जानकार बताउँछन् । त्यसपछि राज्यले तर्कराज गुरुराज पण्डितलाई उक्त स्थानको रेखदेख गर्ने आदेशसहित बिर्ता दिएको महर्जनले बताउनुभयो । 

पछि पण्डितले दरबार क्षेत्र अतिक्रमित भइरहेको भन्दै सरकारमा उजुरी हालेको इतिहासमा भेटिएको पनि महर्जनले बताउनुभयो । केही दशक अघिसम्म दरबारको चारैतिरका पर्खाल देखिने गरेकामा क्रमशः अतिक्रमित हुँदै गई निजी घर बनेको बताइन्छ I रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button