सुदूरपश्चिममा निरन्तर भूकम्पको धक्का, स्थानीय त्रिपालमुनि रात कटाउन बाध्य

अछाम । अछामसहित सुदूरपश्चिमका पहाडी जिल्लामा निरन्तर भूकम्पका परकम्प जान थालेपछि यस क्षेत्रका बासिन्दा त्रसित बन्न थालेका छन् ।
गत कात्तिक २२ गते राति ९ बजेर ७ मिनेटमा खप्तड राष्ट्रिय निकुञ्जमा केन्द्रबिन्दु बनाई गएको भूकम्पपछि निरन्तर साना ठुला परकम्प गइरहेका छन्।
पहिलो भूकम्प गएपछि २३ गते बिहान २ बजेर १३ मिनेटमा ६.६ रेक्टर स्केलको परकम्प गएको यहाँ एक हप्ताको अवधिमा ६ सय २८ बढी परकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र सुर्खेतका प्राविधिक सहायक राजु शर्माले जानकारी दिनुभयो ।
मङ्गलवार साँझ ६ बजेर ८ मिनेटमा मात्रै अछामको बाब्ला आसपास केन्द्र बिन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको थियो । पहिलो भूकम्पपछि हालसम्म ४ रेक्टर स्केल माथिका मात्रै पाँच वटा भूकम्प गएका केन्द्रले जनाएको छ ।

जताततै भूकम्पको त्रास
निरन्तर साना ठुला भूकम्प जान थालेपछि स्थानीय त्रासमा बस्न बाध्य भएका छन्। उनीहरू घरबाहिर खुला आकाशमा त्रिपालमुनि बस्न बाध्य भएका छन् ।
भूकम्प गएपछि मङ्गलसेन–६ अछामका कक्षा ९ मा अध्ययन गर्ने चन्द्रकान्त भण्डारी घरभित्रै जान डराइरहेका छन् । उनले आफ्ना लुगाकपडा तथा सरसामान ल्याउन समेत बहिनीलाई अह्राउने गरेको र आफू घरभित्रै जानै छाडेको उनका आमा झुप्री भण्डारीले बताउनुभयो ।
चन्द्रकान्त जस्तै गाउँका अधिकांश भूकम्पको डरले घरभित्र पस्न डराउन थालेको वडा अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीले बताउनुभयो । यही डरले घर बाहिर पाल टाँगेर बस्ने गरेको उहाँले बताउनुभयो । आफ्नो वडाका २८ पूर्ण क्षति र २२ आंशिक क्षति गरि ५० घरमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो।

करिब ६० प्रतिशत घरमा क्षति
जिल्लाका करिब ६० प्रतिशत बढी घर भूकम्पका कारण चर्किएका छन् । जिल्लाको साँफेबगर, मेल्लेख, चौरपाटी, बान्नीगढी–जयगढ, मङ्गलसेन लगायतका क्षेत्रका घरमा बढी असर गरेको प्रहरीले जनाएको छ ।
मङ्गलसेन नगरपालिकामा मात्रै ४ सय ८४ घरमा क्षति पुगेको नगरप्रमुख पदम बहादुर बोहराले बताउनुभयो। त्यसमध्ये ३ सय ८० घर पूर्ण रुपमा क्षति भएका नगरपालिकाले तथ्याङ्क सङ्कलन गरि सम्बन्धित निकायमा पेश गरेको उहाँको भनाइ छ ।ल आफै अनुगमनमा गएको र अधिकांश भूकम्पको डरले खाली ठाउँमा त्रािपालमा रात बिताउन बाध्य रहेका नगरप्रमुख बोहराले बताउनुभयो ।
कात्तिक २२ गतेको भूकम्पमा डोटीका ६ जनाको ज्यान गएको र उक्त फोटो तथा भिडियो आफूले पनि सामाजिक सञ्जालमा हेरेकोले त्यस्तै नियति भोग्नुपर्ने हो कि भनेर घर बाहिरै बस्ने गरेको उनीहरूको भनाइ छ । त्रिपालमुनि बस्दा विशेष गरि, बालबालिका, ज्येष्ठ नागरिक तथा महिनावारी भएका महिला बढी प्रभावित भइरहेका छन् ।

बढीजसो जिल्लामा साँफेबगर क्षेत्रका घरहरूमा क्षति पुगेको पाइएको छ । भूकम्पको जोडिएको त्यस क्षेत्रमा अधिकांश घरहरू पूर्ण क्षति भएकोले घरबाहिर बस्नुपरेको स्थानीय पूजा बुढाले बताउनुभयो ।
साँफेबगरमा भूकम्पका कारण सडक माथिबाट सुख्खा पहिरो समेत गएको छ । जिल्लाका कमलबजार, ढकारी, तुर्माखाँद, पञ्चदेवल विनायकमा समेत स्थानीय त्रिपालमा बस्ने गरेको पाइएको छ ।
चिसो बढ्दै गएको, परकम्पन निरन्तर गइरहेको अवस्थामा स्थानीयको जनजीवन कष्टकर बन्दै गइरहेको छ ।








प्रतिक्रिया राख्नुहोस्