तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरमा बाघ र चितुवा आतङ्कले स्थानीय त्रसित

मकवानपुर। मकवानपुरमा केही दिन देखि बाघ र चितुवाको आतङ्कले स्थानीय त्रसित भएका छन् । केही दिन देखि जिल्लाको हेटौँडा उपमहानगरपालिका वडा नम्बर–१ क्षेत्रमा बाघ र मकवानपुरगढी–५, मा चितुवाको आतङ्कले स्थानीय बासिन्दाहरू त्रसित भएका छन् । बाघले एकपछि आर्को स्थानमा पशुचौपाया मार्न थालेपछि स्थानीयहरू त्रसित बनेका हुन् ।

हेटौँडा–१, को भैरवडाँडा, चौकिटोल, चाइनाक्वाटर लगायतका क्षेत्रमा पछिल्लो केही दिन यता देखिएको पाटे बाघले एक गाईको बाच्छो र आठ बाख्रा मारेको छ, भने, वन कार्यालयले राखेको क्यामेरामा समेत बाघ देखिएको छ । यता मकवानपुरगढी ५ आमभन्ज्याङ क्षेत्रमा स्थानीयहरूले बाघ भने पनि चितुवाको आतङ्क बढेको डिभिजन वन कार्यालय हेटौँडाले जनाएको छ । बाघ आतङ्कले रातीको समयमा सुत्न समेत नपाएको र स्थानीय बासिन्दाहरू त्रसित भएको स्थानीयले बताएका छन् । मकवानपुर जिल्ला वन्यजन्तु बाघको उपयुक्त बासस्थान नभएपनि पछिल्लो १५ दिनदेखि बाघले आतङ्क मच्चाएको छ ।

गत कार्तिक १३ गते हेटौँडा–१ भैरवडाँडा एक–एक वटा खशि र गाईको बाच्छा मारेको थियो । त्यसपछि कार्तिक २६ गते राति मकवानपुरगढी गाउँपालिका–६ मा ७ वटा बाख्रा र खसी मारेको डिभिजन वन कार्यालय राप्ती, मनहरीका अधिकृत विष्णु प्रसाद आचार्यले जानकारी दिनुभयो । हेटौँडाको भैरवडाँडा र मकवानपुरगढी–५ बीचको दुरी करिब १० किलोमिटर छ ।

आफ्नो शिकारको खोजीमा भैरवडाँडामै आएको बाघ मकवानपुरगढीमा पुगेको हुन सक्ने स्थानीयहरूको अनुमान छ । बाघको कारण स्थानीयहरू एक्लादुग्लै हिड्डुल गर्न, पानी पँधेरो, घरायसी काम दाउरा, घाँस, सोत्तर लगायतका काम गर्न समेत डराउनु पर्ने स्थिति रहेको छ । आहाराको लागि पशुचौपाया खाने बाघले मान्छेलाई पनि आक्रमण गर्न सक्ने भएकोले स्थानीय त्रसित बनेका हुन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button