पर्वतका कैदीबन्दी र कर्मचारीलाई मतदानको व्यवस्था
पर्वत। पर्वत कारागारमा रहेका कैदीबन्दीले पनि आम निर्वाचनमा मतदान गर्न पाउने भएका छन् । अघिल्ला निर्वाचनमा मतदानबाट वञ्चित कैदीबन्दी, कर्मचारी, निर्वाचनमा खटिने सुरक्षाकर्मी लगायतका लागि यो पटक छुट्टै मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको हो । जिल्ला निर्वाचन कार्यालयका अनुसार पर्वतमा कारागार र अस्थायी मतदाताका लागि दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको छ ।
जिल्ला निर्वाचन कार्यालयले सदरमुकामस्थित जिल्ला कारागार र जिल्ला समन्वय समितिको कार्यालयमा गरी दुई वटा मतदान केन्द्रको व्यवस्था गरिएको जानकारी दिएको छ । जिल्ला निर्वाचन अधिकारी लक्षु शर्माले कारागारका ३५ जना कैदीबन्दी र जिल्लाका विभिन्न कार्यालयमा कार्यरत कर्मचारी, सुरक्षाकर्मीलगायत अन्य व्यक्तिहरूसमेत गरी १ हजार ६ सय ७० जनाले संघीय संसद्का लागि समानुपातिक निर्वाचन प्रणालीमा मतदान गर्न पाउने छन् ।
यसअघि जिल्ला निर्वाचन कार्यालयले अस्थायी मतदाताका लागि १६ सय ८३ जनाको नामावली अद्यावधिकका लागि निर्वाचन आयोगमा पठाएको थियो । दोहोरो नामावली नपर्ने गरी आयोगले अद्यावधिक गर्दा रेकर्डमा नभेटिएकाले १३ जनाको नाम हटेर १६ सय ७० जनाको नाम अन्तिम नामावलीमा आएकाले उनीहरूले मतदान गर्न पाउने निर्वाचन अधिकारी शर्माले जानकारी दिनुभयो । कारागारमा रहेका १ सय ५ जना कैदीबन्दीमध्ये मतदाता नामावलीमा नाम भएका ५२ जनाको सूची पठाइएकामा ३५ जनाको मात्रै अस्थायी नामावलीमा दर्ता भएर आएको उहाँले बताउनुभयो ।
आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधिसभा समानुपातिकतर्फ अस्थायी मतदाताले मतदान गर्न पाउने व्यवस्था रहेको छ । अस्थायी मतदाताले अन्य मतपत्रमा भने मतदान गर्न नपाउने मतदाता नामावली ऐन, २०७३ को दफा ३० मा व्यवस्था रहेको जिल्ला निर्वाचन कार्यालय पर्वतका सूचना अधिकारी ज्ञानेन्द्र शर्माले बताउनुभयो । संघीय संसद्को एक र प्रदेशको दुई निर्वाचन क्षेत्र रहेको पर्वतमा ६० हजार ६ सय ५१ पुरुष र ६१ हजार ९ सय ९८ महिला गरी कुल १ लाख २२ हजार ६ सय ५९ मतदाता छन् ।
पर्वतमा ७४ मतदानस्थलमा १ सय ४८ स्थायी मतदान केन्द्र रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । निर्वाचनको तयारी अन्तिम चरणमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्