निर्वाचन सरगर्मीले तातियो सुर्खेत

सुर्खेत । कर्णाली प्रदेशकै राजधानी सुर्खेत यतिखेर निर्वाचनमय भएको छ । पार्टीका शीर्ष नेताहरू नै सुर्खेतको निर्वाचनमा प्रतिस्पर्धी भएका कारणले पनि यहाँको निर्वाचनको चर्चा देशभर छ ।
सुर्खेतसँगै जिल्लाको विकासका अतिरिक्त समग्र कर्णाली प्रदेशकै समृद्धिका महत्त्वपूर्ण योजनाहरू जोडिएका छन् । यहाँका मतदाताहरू सुर्खेत–कोहलपुर १३३ केभी विद्युत् प्रसारण लाइनको निर्माण र कोहलपुर–सुर्खेत चार लेनको बाटो विस्तार गर्ने, चिसापानी– गुटु–मङ्गलसेन फास्ट ट्याक, बड्डीचौर–बेनीघाट सडक, चौकुने सिमेन्ट कारखाना सञ्चालन गर्नुपर्ने मागलाई जोडतोडका साथ उठाइरहेका छन् ।
जिल्लाका पहाडी भेगका बासिन्दा विकाससँगै रोजगारीको मागलाई पनि सशक्त रुपमा उठाइरहेका भेटिन्छन् ।
सुर्खेतको पश्चिम भागमा सडक लगायत पूर्वाधारको समस्या छ भने पूर्वी भागमा भेरी किनाराका बासिन्दालाई सिँचाइको समस्या छ । यी मागहरू पनि मतदाताहरूले यसै मेसोमा उम्मेदवारहरू समक्ष राखिरहेका छन् । त्यसो त पटक पटक प्रतिबद्धता व्यक्त गर्ने तर पुरा नगर्ने कतिपय नेताहरूका आश्वासनलाई सुर्खेतका मतदाताहरूले छिट्टै पत्याइहाल्ने अवस्था पनि छैन । सुर्खेतका चौकुने गाउँपालिकाका समाजसेवी काशीराम देवकोटाले नेताले आफै बोलेका प्रतिबद्धता पुरा गरिदिए पनि धेरै विकास हुने बताउनुहुन्छ ।
पटक–पटक निर्वाचनमा प्रतिस्पर्धा गरेका अनुभवी नेताहरूलाई मतदाता रिझाउन उत्ति गाह्रो त देखिँदैन तर मतदाताका नयाँ आकाङ्क्षा सम्बोधन गर्ने विषयमा उनीहरू घोत्लिन बाध्य छन् ।
सुर्खेतमा रहेको विमानस्थल विस्तार गर्ने आश्वासन सुर्खेत–२ का उम्मेदवारहरूले दिइरहेका छन् भने सुर्खेत १ का उम्मेदवारहरू नयाँ विमानस्थल बनाउने योजना अघि सारिरहेका छन् । पुराना प्रतिबद्धता पूरा गर्ने र नयाँ योजना ल्याउने प्रण गर्दै यतिखेर सुर्खेतका उम्मेदवारहरू सहरदेखि विकट बस्तीसम्म प्रचार प्रसारमा जुटेका छन् । उनीहरुलाई साँच्चै भन्ने हो भने मतदाताको घरदैलो मै गएर मत माग्न भ्याइनभ्याइ छ । मुख्य राजनीतिक दलका नेताहरूमाथि नै सुर्खेतमा निर्वाचनको चर्चा केन्द्रित छ ।
नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत–१ बाट छैटौँ पटक निर्वाचनमा होमिनुभएको छ । अघिल्ला निर्वाचनहरू मध्ये एक पटक मात्र पराजय बेहोर्नुभएका खड्का नेपाली काँग्रेसका प्रभावशाली नेता मानिनुहुन्छ ।
सुर्खेत १ मा खड्काको प्रतिस्पर्धा एमालेका ध्रुवकुमार शाहीसँग छ । शाहीले अघिल्लो निर्वाचनमा खड्कालाई पराजित गर्नुभएको थियो । अहिले निर्वाचनमा सत्ता गठबन्धनबाट माओवादी केन्द्र, नेकपा समाजवादी र जनमोर्चाको साथ खड्कालाई छ । यहाँ नेपाली काँग्रेस पुरानो साख फर्काउने रणनीतिमा छ भने एमाले आफ्नो साख जोगाउन लागिपरेको छ ।
त्यस्तै, सुर्खेत–२ मा गठबन्धनबाट नेपाली काँग्रेसका हृदयराम थानी र एमालेका अमृत बिसीबीच नै तीव्र प्रतिस्पर्धा छ । यसअघि एमालेका नवराज रावतले थानीलाई पराजित गर्नुभएको थियो । रावत अघिल्लो निर्वाचनमा बाम गठबन्धनबाट निर्वाचित हुनुभएको थियो तर एमालेलाई साथ दिएको माओवादी केन्द्र अहिले काँग्रेससँग गठबन्धन गरेर निर्वाचनमा छ । यसले सुर्खेत २ को निर्वाचनको गणितलाई हेरफेर गर्न सक्ने यहाँका मतदाताहरू बताउँछन् ।
अर्को रोचक पक्ष त के छ भने प्रतिनिधिसभाको उम्मेदवार थानीलाई सहयोग गरेको नेकपा समाजवादीले सुर्खेत–२ का २ वटै प्रदेशसभामा भने अलगै उम्मेदवार उठाएको छ । यो समीकरणको प्रभाव कस्तो पर्ला भन्ने कौतुहलता पनि सुर्खेतका मतदाताहरूमा छ ।
सुर्खेतबाट प्रदेश सभाहरूमा पनि पार्टीका प्रभावशाली नेताहरू चुनावी मैदानमा छन् । सुर्खेत २ क मा एमाले नेता यामलाल कँडेलसँग काँग्रेसका कालिप्रसाद शाक्य प्रतिस्पर्धामा हुनुहुन्छ भने २ ‘ख’ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका विन्दमान विष्ट र एमालेका ताराकेशर गौतमबीच मुख्य प्रतिस्पर्धा छ ।
सुर्खेत १ ‘क’ मा गठबन्धनका तर्फबाट काँग्रेसका सुर्खेत सभापति खड्कप्रसाद पोखरेल र एमालेका ठम्बर विष्टबीच मुख्य प्रतिस्पर्धा देखिएको छ भने सुर्खेत १ ‘ख’ मा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका कृष्ण जिसी र एमालेका डण्डीप्रसाद शर्माबीच प्रतिस्पर्धा छ ।
९ वटा स्थानीय तह रहेको सुर्खेतमा २ लाख ४४ हजार मतदाताहरू छन् । मतदाताको अपेक्षा र उम्मेदवारहरूको प्रतिवद्धताबीच तालमेल भएपनि निर्वाचनको परिणामका विषयमा भने मतदाताहरुबीच फरक–फरक आँकलन छन् ।








प्रतिक्रिया राख्नुहोस्