स्वतन्त्र उम्मेदवारका एजेन्डा : भ्रष्टाचार नियन्त्रण, विकास र परिवर्तन
चितवन I मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि जिल्लाका राजनीतिक दलसँगै स्वतन्त्र उम्मेदवार पनि घरदैलोमा व्यस्त छन् ।
जिल्लाका तीन प्रतिनिधिसभा र ६ प्रदेशसभा निर्वाचनका लागि एक सय १४ जना उम्मेदवार मैदानमा छन् । जसमध्ये ४७ जना स्वतन्त्र उम्मेदवार हुन् । उनीहरूले आफ्ना मुद्दासहित घरदैलो कार्यक्रम गरिरहेका छन् ।
चितवन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दिनुभएका राजन न्यौपाने अहिले मतदाता भेट्ने कार्यक्रममा व्यस्त हुनुहुन्छ । आफ्ना सीमित मुद्दा लिएर जनतामाझ गएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो “म सुशासन, भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका मुद्दा लिएर जनतामाझ गएको छु ।” देशमा बढ्दो भ्रष्टाचार नियन्त्रण गर्न दलका उम्मेदवारले नसक्ने भन्दै उहाँले यसका लागि स्वतन्त्र उम्मेदवारको जीत आवश्यक रहेको बताउनुभयो ।
स्थिर सरकार स्वदेशमा रोजगार, शिक्षा स्वास्थ्य, आवासको सुविधा सर्वसुलभ बनाउन सके जनताको जीवनस्तरमाथि उठ्ने अठोटका साथ उहाँ चुनावी मैदानमा होमिनु भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा १० जना स्वतन्त्र उम्मेदवार छन् । उनीहरू यस्तै मुद्दा र नाराका साथ निर्वाचनका लागि मतदाता सामु पुगेका छन् ।
क्षेत्र नम्बर २ मा छ जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । स्वतन्त्र उम्मेदवार देवीका कुँवरले कृषि, शिक्षा स्वास्थ्य, लैङ्गिक समानता जस्ता मुद्दा बोकेर मतदातासँग मत माग्दै हुनुहुन्छ ।
उहाँले भन्नुभयो, “कृषिमा आत्मनिर्भर, गुणस्तरीय शिक्षा, सबैको पहुँचमा स्वास्थ्य सेवा हाम्रा मुख्य मुद्दा हुन् ।” उहाँले सामाजिक तथा लैङ्गिक समानता, विपन्न समुदायको विकास, पर्यटन क्षेत्रको विकास, सुकुम्वासीको दिगो समाधान लगायतका मुद्दा लिएर घरदैलो गर्दै आउनुभएको छ ।
अर्का स्वतन्त्र उम्मेदवार अङ्गुर पन्त पनि चितवन क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यका लागि मैदानमा हुनुहुन्छ । उहाँले देशमा सुशासन कायम गर्दै राज्यबाट उपलब्ध सेवा सुविधा जनतासम्म पु¥याउने बताउँदै आउनुभएको छ । उहाँले जनतालाई सीप र शिक्षा जोड्दै देशको विकासका लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभयो । त्यसैगरी स्वतन्त्र उम्मेदवार हरि तामाङ पार्टीभित्रको गलत प्रवृत्तिको अन्त्यका लागि आफूले उम्मेदवारी दिएको बताउनुभयो । समाजमा देखिएको निराशालाई आशामा बदल्न आफ्नो उम्मेदवारी रहेको उहाँको भनाइ छ ।
चितवन क्षेत्र नम्बर ३ मा दलका तर्फबाट भन्दा स्वतन्त्र उम्मेदवार धेरै छन् । २०७० सालको संविधानसभा निर्वाचनपछि चर्चामा रहेको यस क्षेत्रमा राजनीतिक दलबाट आठ जना र १२ जना स्वतन्त्रले उम्मेदवारी दिएका छन् ।
जिल्लाभर चार लाख आठ हजार तीन सय ४२ मतदाता छन् । जसमध्ये महिला दुई लाख नौ हजार तीन सय नौ र पुरुष एक लाख उनान्नसय हजार ३२ जना रहेका छन् । एक सय ६१ मतदानस्थलमा रहेका चार सय ६० मतदान केन्द्रबाट उनीहरूले मतदान गर्ने छन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख ३९ हजार आठ सय ४५ मतदान रहेका छन् भने क्षेत्र नं २ मा एक लाख २४ हजार दुई सय १४ र ३ मा एक लाख ४४ हजार दुई सय ८३ जना छन् ।
यस्तै प्रदेशसभा निर्वाचन क्षेत्र नं १ अन्तर्गत प्रदेशसभा १ मा ६६ हजार १५ र प्रदेशसभा २ मा ७३ हजार आठ सय ३० जना मतदान रहेका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत प्रदेशसभा १ मा ६१ हजार नौ सय ७३ र प्रदेशसभा २ मा ६२ हजार दुई सय ४२ मतदाता छन् । साथै, निर्वाचन क्षेत्र नम्बर ३ अन्तर्गत प्रदेशसभा १ मा ७८ हजार दुई सय ८६ र प्रदेशसभा २ मा ६५ हजार नौ सय ९६ जना मतदान छन् । रासस






प्रतिक्रिया राख्नुहोस्