तपाईँ सुन्दै हुनुहुन्छः

‘गठबन्धनको मुल एजेण्डा राजनीतिक स्थायित्व र आर्थिक समृद्धि’

चितवन । चितवनमा लोकतान्त्रिक वाम गठबन्धनद्वारा आयोजित आमसभामा शीर्ष नेताहरूले लोकतन्त्रको रक्षा गर्दै आर्थिक समृद्धि हासिल गरिने बताउनुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय एकता सुदृढ बनाउँदै स्वदेशमै उद्योग र जलश्रोतको विकास गरी रोजगारी सिर्जना गर्नुपर्ने बताउनुभयो । देशमा राजनैतिक स्थायित्व चाहिएकाले गठबन्धन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ठूलो सङ्घर्षपछि लोकतन्त्र आएको भन्दै देशलाई दुर्घटनाबाट बचाउन गठबन्धन आवश्यक रहेको बताउनुभयो । ‘गठबन्धन राष्ट्रको शान्ति र विकासको लागि गरिएको हो’ उहाँले भन्नुभयो । गोर्खाबाट चुनाव लडे पनि चितवनको विकासमा कमी आउन नदिने प्रतिबद्धता उहाँले जनाउनुभयो ।

चितवन क्षेत्र नम्बर १ मा लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार विश्वनाथ पौडेलले देश कोरोनापछि आर्थिक रुपमा अप्ठेरोमा रहे पनि खतरातिर उन्मुख नभएको बताउनुभयो । नेपालमा रहेका स्रोत साधनको सदुपयोग गरी विप्रेषणबाट भन्दा बढी आम्दानी गर्न सकिने पौडेलले बताउनुभयो ।

चितवन क्षेत्र नम्बर २ मा गठबन्धनका उम्मेदवार राज्यमन्त्री उमेश श्रेष्ठले चितवनको स्वास्थ्य, कृषि क्षेत्रको विकासका लागि उम्मेदवारी दिएको बताउनुभयो ।

चितवन क्षेत्र नम्बर ३ मा गठबन्धनका उम्मेदवार डाक्टर भोजराज अधिकारीले राजनीतिलाई विकाससँग जोड्न आफ्नो उम्मेदवारी रहेको भन्दै जनतालाई शिक्षा, स्वास्थ्य कृषि तथा पर्यटनसँग जोडेर रोजगारी सिर्जना गर्नु प्रमुख एजेण्डा रहेको सुनाउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button