तपाईँ सुन्दै हुनुहुन्छः

व्यावसायिक फूलखेतीमा युवा आकर्षण

रञ्जिता अधिकारी देउखुरी ।

दाङमा व्यावसायिक फूल खेतीमा युवा आकर्षण बढ्दै गएको छ । वाणगङ्गा नगरपालिका कपिलवस्तुका भास्कर पङ्गेनी, दशरथ साउद र बसन्त छहरी मगरले घोराही उपमहानगरपालिका–१५ भरतपुरमा व्यावसायिक सयपत्री फूल खेती गरेर तिहारमा रु १२ लाख आम्दानी गरेका छन् ।

कपिलवस्तुमा चार वर्षदेखि फूल खेती गरिसकेका पङ्गेनीले गत वर्षदेखि दाङमा व्यवसायीक फूल खेती विस्तार गर्नुभएको हो । उहाँले दाङमा १० कठ्ठा जमिन मासिक रु दुई हजार भाडा तिर्ने गरी फूल खेती सुरु गर्नुभएको हो ।

गत वर्ष पाँच कट्ठामा व्यावसायिक फूल खेती गर्नुभएका पङ्गेनीले यो वर्ष १० कट्ठामा फूल खेती गर्नुभएको छ । उहाँले यस बर्ष ‘कर्म ५५५’ जातको सयपत्री फूल खेती गर्नुभएको छ ।

भास्करसँगै व्यवसायमा जोडिनुभएका कृषि प्राविधिक सहायक दशरथ साउदले फूल खेतीको प्राविधिक पक्ष हेर्ने गर्नुभएको छ । कृषि प्राविधिक पढेर कृषिमा लाग्नुभएका साउदले फूल खेती अवलोकन गर्न आउनेलाई प्राविधिक ज्ञान दिने गर्नुभएको छ ।

घोराही–१५ भरतपुरमा फूलखेती गरिएको स्थानमा “एग्रो टुरिजम” सञ्चालन गर्नुभएको छ । फूलेका फूललाई सदुपयोग गर्न र टिकटक बनाउने स्थान बनाएर रमाइलो गर्ने ठाउँ बनाइदिएको साउदले बताउनुभयो । ढकमक्क फूलेका फूलले बारी मनमोहक देखिएको छ । तिहार सकिए पनि फूल ढकमक्क फूलेका छन् । टिकटक बनाउन आउनेलाई फोटो खिच्न माला बनाएर दिने गरेको भएर माला बनाउने काम पनि चलिरहेको छ ।

तिहार सकियो, फूलको सदुपयोग गरौँ भनेर यस्तो सोचाइ गरेको उहाँले बताउनुभयो । रु पाँच लाख लगानी गरेर फुल खेती गरेको यसपाली तिहारमा रु १२ लाखको फुल बिक्री गरेको साउदले बताउनुभयो । गत वर्षभन्दा यो वर्ष राम्रो आम्दानी भयो । एउटा माला रु १५० देखि तीन सयसम्ममा बिक्री गरेको उहाँले बताउनुभयो ।

file photo

नेपालमा सबैभन्दा धेरै फुल बिक्री आफूले गरेको भास्कर पङ्गेनीले दाबी गर्नुभयो । “माला र फूलको अत्यधिक माग आयो आफै बजारमा लगेर बिक्री गर्‍यौँ”, उहाँले भन्नुभयो । अहिले फूल खेती गरिएको ठाउँमा टिकटक बनाउने स्थान सिँगारेर चिटिक्क बनाउनुभएको छ । “२५ हजार लगानी गरेर टिकटक स्थान बनाएको हो, उहाँले भन्नुभयो ।” विद्यार्थीलाई रु ५० प्रतिशत सहुलियतमा प्रवेश गर्न दिइएको छ भने अन्य नागरिकलाई रु एक सय लिने गरेको उहाँले बताउनुभयो ।

विवाहको कार, विवाह मण्डप सजाउने गरेको उहाँले बताउनुभयो । कृषिमा लगानी गरियो भने घाटा हुँदैन नाफा नै हुने गरेको उहाँको भनाइ छ । स्वदेशमै फूलमा आत्मनिर्भर बनाउने उद्देश्यले रु एक लाख आठ हजारको फूलको बीऊ किनेर खेती सुरु गरेको उहाँको भनाइ छ । “फूलका बिरुवा बिक्री गरेर बीऊको पैसा उठिसकेको छ, फूल बिक्री गरेको पैसा सबै आम्दानी हो, उहाँले भन्नुभयो ।”

जिल्ला बाहिरबाट फूलको माग आएको भए पनि पहिलो प्राथमिकता जिल्लाभित्रलाई दिएर फुल बिक्री गरेको उहाँले बताउनुभयो ।

युवा वैदेशिक रोजगारीका लागि बाहिर जानु नपर्ने र स्वदेशमै कृषिबाट मनग्य आम्दानी गर्न सकिने उहाँको भनाइ छ । बेरोजगार युवालाई कृषिमा समाहित गराउने उद्देश्यले १०८ कन्सेपमा कृषि फर्मको नाम नै (१०८) राख्नुभएको छ । दाङको कृषि फर्म ३ नम्बरको रहेको छ ।

फूल उत्पादनका लागि दाङको माटो उपयुक्त रहेको उहाँको भनाइ छ । यहाँ उत्पादित फूल विदेश निर्यात गरेर पनि आम्दानी गर्न सक्ने सम्भावना रहेको कृषि विज्ञको भनाइ छ । जग्गा बाँझो छाडेर विदेश जानुभन्दा स्वदेशमै बसेर यस्तै फूल खेती गर्न सके त्यसले आयआर्जनको बलियो आधार भएको छ ।

एक सय ८ युवालाई कृषि उद्यमी बनाउने तथा रोजगार प्रदान गर्ने अभियान अन्तर्गत देशव्यापी रुपमा युवालाई कृषिमा सहभागी हुन पङ्गेनीले आह्वान गर्नुभएको छ ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button