तपाईँ सुन्दै हुनुहुन्छः

भोट हाल्नु अघि बाली थन्काउने चटारो  

सिन्धुली । दिन भरी धान झारेर थाकेका श्रीमान् तामाङ  बेलुकी पख आलिमा बसेर थकाई मार्दै हुनहुन्थ्यो । उहाँको छिमेकीहरू वरपर कोही पराल बान्दै, केही खेतबाट धानलाई घर लान हतारिँदै थिए । 

सिन्धुली बिपी राजमार्गमा सेतो डबल क्यापको बोलेरो चुनावी प्रचार प्रसारका गीत घन्काउँदै हिँडिरहेको थियो । चर्को आवाजमा घन्किएको गीत तामाङ बसेको खेतको डिलसम्म आइपुग्यो । नजिकिँदै गरेको प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनको माहौलले उहाँलाई पनि छोएको छ । उमेरले ५९ वर्ष पुग्नु भएको  तामाङले निर्वाचनको माहौललाई हेर्दै भोट हाल्न उत्साहित भएको सुनाउनु भयो । धान पराल थन्काएर मङ्सिर चारमा  भोट हाल्ने तरखरमा रहेको उहाँको भनाई थियो ।  आठ वर्ष देखि १० कट्टा अरुकै खेतमा अधिया गर्दै आउनु भएका उहाँले यस वर्ष २० मुरी धान फलाएको सुनाउनुभयो । 

यस वर्ष बालिभित्राउने  समयमा पानी परेन, मौसम सफा भएको कारण अन्नबाली राम्रै सँग थकाउन पाएकोमा उहाँ खुसी देखिनुहुन्थ्यो ।  ५ वर्ष अघिको चुनावमा भोट हाल्नु भएका तामाङले नेताहरूले अपेक्षा अनुसार काम नगरे पनि भोट हाल्न पाउने आफ्नो अधिकार भएको बताउनु भयो । 

धान खेतमा पराल बान्दै गरेको अवस्थामै भेटिए सिन्धुलीका राम बहादुर मगर । बिहान घरबाट निस्किए पछि  दिनभरि खेतबारीमै व्यस्त हुने र साँझ ७ बजेपछि मात्र घर पुग्ने गरेकोले, घरदैलो अभियानमा आउने नेता तथा कार्यकर्ता सँग मगरको भेट भने भएको रहेनछ  । उहाँ भन्नु हुन्छ ‘घरमा ताला लगाएर दिनभरि खेत मानै हुन्छु नेताहरूले मलाई कसरी भेट्नु, काम नगरी माम मिल्ने वाला छैन’ । उहाँले भन्नुभयो । 

उहाँले धान बाली लगाउने बेलामा मल नपाएर साथीसँग कुटाकुट होला झैँ भएको दिनको सम्झना गर्दै यस वर्ष किसान र कृषिकर्म बुझेका नेतालाई भोट दिने विचार रहेको सुनाउनुभयो । 

मगरले अन्नबाली भित्राउने  काम लगभग सकिन लागेको र निर्वाचन पनि नजिकिँदै गएकोले काम सकेर ढुक्कले भोट हाल्ने   तयारी रहेको बताउनु भयो ।

कुल बहादुर बुढाथोकी पनि धान खेतमै व्यस्त अवस्थामा भेटिनु भयो ।  धान झार्ने काम सकाएर पराल थन्काउने तरखर गर्दै हुनहुन्थ्यो उहाँ । यस वर्ष उहाँले पनि माटोलाई राम्रो सँग बुझेको नेतालाई भोट हाल्ने बताउनु भयो । चुनावको बेला अनुहार देखाएर कहिले नफर्कने नेतालाई भोट नदिने र जसले राम्रो काम गर्छ उसैलाई सबै कृषकले एकजुट भएर भोट दिनु पर्ने उहाँले बताउनु भयो । 

पाँच वर्षमा फेरी भोट हाल्ने मौका पाएकोमा खुसी लागेको र अन्न वाली भित्राउने काम नसकिए थाती राखेर भए पनि भोट हाल्ने उहाँले बताउनु भयो । सिन्धुलीमा निर्वाचन नजिकिँदै जाँदा नेताहरूले घरदैलो अभियानलाई तीव्र बनाएका छन् । त्यसरी नै किसानले पनि अन्नबाली थन्काउने कामलाई तीव्रता दिइरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button