निर्वाचन प्रचारमा गरिने फजुल खर्च कम गर्न प्रमुख आयुक्तको आग्रह
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन प्रचारप्रसारका क्रममा हुने फजुल खर्चले वित्तीय अनुशासन उल्लङ्घनका साथै अर्थतन्त्रलाई प्रभावित पार्ने भएकाले कम खर्चमा मतदाता समक्ष जान दल र उम्मेदवारहरूलाई प्रेरित गर्ने गरी समाचार सम्प्रेषण गर्न सञ्चार माध्यमहरूलाई आग्रह गर्नुभएको छ ।

नेपाल टेलिभिजनले निर्वाचन अभिमुखीकरण तथा विषयवस्तु र प्राविधिक तयारीबारे आयोजना गरेको कार्यक्रममा उहाँले प्रतिस्पर्धात्मक समयमा स्थलमा गएर सही समाचार ल्याउन टेलिभिजनकर्मीलाई प्रविधि, जनशक्ति वा अन्य कुनै पक्षको अभावका नाममा गर्न खोजेको काम गर्न नसकिएको भन्ने छुट नभएको भनाइ राख्नुभयो ।
‘सूचना दिएर जितिन्छ, लुकाएर जितिँदैन’ भन्ने मान्यताका साथ आयोगले सूचनामा सबैको समान पहुँच स्थापित गर्ने गरी संयन्त्र स्थापना र प्रवाह गरिरहेकाले तथ्य जाँच गरेर समयमा सही समाचार दिन उहाँले आग्रह गर्नुभयो । प्रमुख निर्वाचन आयुक्त थपलियाले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिको अनुगमन भइरहेकाले गालीगलौज र लाञ्छनायुक्त भनाइलाई रोक्न पाइँदैन भन्ने हिसाबले प्रस्तुत हुनु दुर्भाग्यपूर्ण भएको टिप्पणी गर्नुभयो ।
प्रमुख आयुक्त थपलियाले जनताको अभिमत प्रकट हुनु पूर्व फलानो उम्मेदवार बलियो वा फलानो उम्मेदवार कमजोर भन्ने ढङ्गले समाचार वा मत सर्वेक्षण गर्न आचारसंहिता बमोजिम नपाइने भएकाले त्यसबाट सजग रहन आग्रह गर्दै मतदानको दिन र मतगणना कार्यको समाचार दिँदा अन्तर्राष्ट्रिय मान्यता अनुरूप तथ्यपरक, सन्तुलित र विश्वसनीय समाचार प्रवाह गर्न आग्रह गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्