तपाईँ सुन्दै हुनुहुन्छः

यो वर्ष जुम्लामा स्याउ उत्पादन बढ्यो

कर्णाली । स्याउ खेतीका लागि प्रसिद्ध जुम्लामा यो वर्ष स्याउ उत्पादन बढेको छ । 

जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख गणेश अधिकारीले चालू आर्थिक वर्षमा १८ हजार मेट्रिकटन स्याउ उत्पादन भएको जानकारी दिनुभयो । उहाँका अनुसार गत आवमा १२ हजार मेट्रिकटन स्याउ उत्पादन भएको थियो ।

स्याउ उत्पादन बढे पनि किसानले उचित मूल्य नपाउँदा चिन्तित बनेका छन् । हाल उत्पादित १८ हजार मेट्रिकटन मध्ये ९ हजार मेट्रिकटन स्याउ नेपालगञ्जलगायतका बजारमा पठाइएको छ । तर स्याउले उचित मूल्य नपाएको किसानहरूको भनाइ छ ।

व्यवसायीहरूले मौसममा प्रतिकेजी रु ५० देखि ५५ मा स्याउ खरिद गरी प्रतिकेजी रु ६७ देखि ७० मा बिक्री गर्दै आएका थिए । तर अहिले किसानहरू त्योभन्दा निकै कम मूल्यमा स्याउ बिक्री गर्न बाध्य भएका छन् । 

चन्दननाथ नगरपालिका– ८ जुम्लाका स्याउ व्यापारी धर्मसिंह कठायतले जुम्लाको अर्ग्यानिक स्याउ सुर्खेत, नेपालगञ्ज, दाङ, बुटवल, नारायणगढ र काठमाडौँसम्म पुर्‍याए पनि उचित बजार मूल्य नपाएको गुनासो गर्नुभयो । 

“मैले प्रतिकेजी रु ५० मा स्याउ किनेर ढुवानी खर्चसहित प्रतिकेजी रु ६० मा नेपालगञ्ज पुर्‍याए”, उहाँले भन्नुभयो, “तर प्रतिकेजी रु ३० मा बिक्री गर्न बाध्य भएँ ।” 

कोहलपुरमा शीतभण्डार नहुँदा स्याउको सुरक्षा हुन नसकेको र कुहिन दिनुभन्दा सस्तो भए पनि बेच्नुपर्ने बाध्यता आइलागेको उहाँको भनाइ छ । नाम चलेको जुम्लाको अर्ग्यानिक स्याउ शीत भण्डारबाटै ल्याउँदा पनि मूल्य नपाउँदा आफू समस्यामा परेको कठायतले जनाउनुभयो । जुम्लामा साउन, भदौ र असोजमा स्याउ टिप्न सुरु हुन्छ । तर कात्तिकपछि सिजन सकिन्छ ।

यो बेमौसमी बेलामा समेत यसले राम्रो मूल्य पाउन नसकेको र उपभोक्ताले पनि जुम्लामा उत्पादन हुने अर्ग्यानिक स्याउको महत्त्व नबुझेको तातोपानी गाउँपालिका–२ जुम्लाका वीरेन्द्र डाँगीले बताउनुभयो । मण्डीवालाले नै प्रतिकेजी ३० मा नदिए स्याउ नलिने भनेपछि अहिले फुटपाथमै बसेर फुटकर बेचिरहेको डाँगीको भनाइ छ । 

सिञ्जा गाउँपालिका–१ जुम्लाका कमल खत्रीको व्यथा पनि त्यस्तै छ । तीनै जनाले नेपालगञ्ज पु¥याएको १२ मेट्रिकटन स्याउले मूल्य नपाउँदा समस्यामा परिएको खत्रीको भनाइ छ । उहाँले भन्नुभयो, “हामी नेपाली आफ्नो उत्पादनलाई हेला गरेर विषादी मिसाएका विदेशी वस्तुलाई चिल्लो देखेर त्यसैमा झुम्मिन्छौँ । यो नै हाम्रो ठूलो कमजोरी हो भन्ने अनुभूति भयो ।” रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button