सोलुखुम्बुबाट ‘एभरेष्ट ट्रेल रेस’ सुरू

सोलुखुम्बु । विश्वकै उत्कृष्ट १० साहसिक ट्रेल रेस मध्येको ‘एभरेष्ट ट्रेल रेस’ सगरमाथाको जिल्ला सोलुखुम्बुबाट सुरू भएको छ ।
‘एभरेष्ट ट्रेल रेस’ को १० औँ संस्करण सोलुखुम्बुको सोलुको दूधकुण्ड नगरपालिका–८ पत्तालेबाट आज सुरू भएको हो । १०औँ संस्करणको उद्घाटन सोलुको दूधकुण्ड नगरपालिकाकी उपमेयर गान्धीमाया तामाङ र नेपाल पर्यटन बोर्डकी शाखा अधिकृत यशोदा अर्यालले गर्नुभएको आयोजक संस्था अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिशन प्रालिका प्रबन्धक निर्देशक कामी शेर्पाले जानकारी दिनुभयो ।
सन् २०११ बाट पूर्वी दोलखाको पर्यटकीय नगरी जिरीदेखि सुरू गरेको रेस सन् २०१९ देखि सोलुको दूधकुण्ड नगरपालिका–८ पत्तालेबाट सुरू गरिएको आयोजक संस्था अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिशन प्रालिका निर्देशक ङिमा देण्डी शेर्पाले जानकारी दिनुभयो ।
नेपालका तीन धावकसहित १० राष्ट्रका ३५ धावकहरू ट्रेल रेसमा सहभागी छन् । रेसमा नेपाली धावकहरू सुमन कुलुङ, आशा विक र आङ फुर्वा शेर्पा सहभागी छन् । त्यसैगरी स्पेन, अर्जेन्टिना, इटाली, सुडेन,बेलायत, ग्रिस, पोर्चुगल, लिथुआनिया, कोलम्बिया र न्युजिल्याण्डका धावकहरू सहभागी छन् ।
दोलखाको जिरीदेखि दौडिने रुटमा जथाभाबी सडक खनिएपछि सोलुको पत्तालेबाट रेस सुरू गरिएको आयोजक संस्था अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिशन प्रालिका प्रबन्धक निर्देशक कामी शेर्पाले बताउनुभयो । जिरीदेखि खरीखोलासम्म पुग्न सयौँ ठाउँमा पुराना पैदल हिँड्ने रुट मासेर मोटरबाटो बनाएपछि साबिकको गन्तव्य परिवर्तन भएको शेर्पाले बताउनुभयो । शेर्पाका अनुसार गौरीशंकर संरक्षण क्षेत्रमा महँगो शुल्क तिनुपर्ने अवस्था भएकोले पनि गन्तव्य परिवर्तन गरिएको हो ।
रेस पत्तालेबाट सुरु भएर एक सातामा च्याङसार, खोरिया, सामसिम, पिके डाँडा (च्यावी पिके र गोले पिके), लाम्जुरा, जुनबेंसी, फुङमोचे, तोङगीनासा, टाक्सिन्दु, यावा गोन्पा, जुभिङफेदी, खरिखोला, फाक्दीङ, नाम्चे, खुम्जुङ, फोर्चे, पाङबोचे, त्याङबोचे हुँदै खुम्बु पासाङल्हामु गाउँपालिकाको लुक्लामा आएर समापन हुनेछ ।
कुल १ सय ६० किलोमिटर दूरीको रेसमा समुन्द्री सतहदेखि ४ हजार मिटर भन्दा माथि सम्म धावकहरू दौडिने छन् ।
पर्यटनको दिगो विकास, संरक्षण, प्रवद्र्धन र नेपाली साहसिक पर्यटकीय गतिविधिको विश्वभर प्रवद्र्धन गर्ने उद्देश्यले अन्नपूर्ण ट्रेक्स एण्ड एक्सपिडिसन प्रालिले सन् २०११ देखि यो अन्तर्राष्ट्रियस्तरको रेस प्रतियोगिता आयोजना गरिरहेको शेर्पाले बताउनुभयो ।
पछिल्लो समय अल्ट्रा रेसहरू तल्लो सोलु क्षेत्रदेखि सुरु हुँदा यस क्षेत्रको पर्यटन प्रवर्द्धन समेत टेवा पुग्ने स्थानीयको विश्वास छ ।






प्रतिक्रिया राख्नुहोस्