वीरगंज उद्योग वाणिज्य संघ र भियतनाम चेम्बर अफ कमर्सबीच व्यापार विस्तार गर्ने सम्झौता

वीरगंज । वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष डा.सुबोध कुमार गुप्ताको नेतृत्वमा रहेको व्यापारिक भ्रमण प्रतिनिधिमण्डलले आज भियतनाम चेम्बर अफ कमर्श एण्ड इण्डष्ट्रीका पदाधिकारीहरूसँग दुई पक्षीय व्यापार विस्तारका सम्बन्धमा छलफल गरेको छ ।
सो अवसरमा द्विपक्षीय व्यापार विस्तार, पर्यटन प्रबद्र्धन, आपसी सहयोग र सद्भावको लागि दुवै पक्षले सम्झौता पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा वीरगंज उद्योग वाणिज्य सङ्घको तर्फबाट अध्यक्ष डा. गुप्ता तथा भियतनाम उद्योग वाणिज्य संघका तर्पmबाट महानिर्देशक ट्रान न्गोक लिएमले हस्ताक्षर गर्नु भएको छ । सम्झौता पत्रमा दुवै संस्थाले व्यावसायिक गतिविधि, लगानी, प्रविधि हस्तान्तरण, सेवा तथा अन्य आपसी हित हुने व्यावसायिक क्षेत्रको प्रबद्र्धनको लागि सहजीकरण गर्ने कुरा उल्लेख छ ।

सम्झौतामा दुवै राष्ट्रका व्यापारिक भ्रमण टोलीलाई सक्दो सहयोग गर्ने तथा व्यापारिक प्रदर्शनी, मेला, सेमिनारहरूमा दुवै राष्ट्रले सहभागिता जनाउने र आवश्यकताअनुसार दुवै संस्थाको संयुक्त बैठक गर्ने कुराहरू उल्लेख गरिएको छ । यस अघि हिजो मात्रै वीरगंज उद्योग वाणिज्य संघ र सिंगापुर उद्योग वाणिज्य संघबीच एमओयुमा हस्ताक्षर भएको थियो ।
वीरगंज उद्योग वाणिज्य संघ सङ्घ र भियतनाम चेम्बरका उद्योगी व्यापारीहरू बीचको बैठकले दुवै देशको व्यापारिक सम्बन्धमा अझ नयाँ आयाम थपिएको छ । नेपालको भियतनामसँग व्यापार वृद्धि र नेपाल र भियतनामका उद्यमीहरूको संयुक्त लगानीमा वीरगञ्जमा नयाँ लगानी भित्र्याउन यस भेटघाटले उल्लेखनीय भूमिका निर्वाह गर्ने विश्वास वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ताले बताउनुभयो ।

नेपालको आर्थिक राजधानीका रुपमा परिचित वीरगञ्ज र भियतनामको आर्थिक केन्द्रका रुपमा पहिचान बनाएको होचिमिन्ह सिटीका चेम्बर बीच भएको स्मृति पत्रमा हस्ताक्षर र द्विपक्षीय सम्बन्धले वीरगञ्जलाई अन्तर्राष्ट्रिय बजारमा अझै सघन रुपमा प्रवेश गराउन मद्दत मिलेको र यस क्षेत्रमा भियतनामी लगानी आउने बाटो सरल बनाएको हुँदा आफूहरू उत्साहित बनेको डा. गुप्ताले बताउनुभयो ।
उक्त भ्रमण प्रतिनिधिमण्डलमा सङ्घका निवर्तमान अध्यक्ष गोपाल केडिया, उपाध्यक्ष माधव राजपाल, महासचिव मनोजकुमार दास, सचिव अरविन्द्र अमात्य, सह–कोषाध्यक्ष प्रेमचन्द्र गोयल, सह–सचिव अनोज रुँगटा, का.स.स. सुनिलकुमार खेतान, रविन्द्रकुमार बरनवाल, मनोजकुमार शर्मा, नरेशकुमार टिबडेवाल, शिवजीप्रसाद साह, मुरली जालान, प्रमोदकुमार चौरसिया, पन्नालाल प्रसाद साह, प्रकाश खण्डेलवाल, अंकितकुमार खेतान, प्रभात रुँगटा, बुद्धिप्रसाद पन्त, डा. लक्ष्मी थापा लगायतको सहभागिता रहेको छ ।








प्रतिक्रिया राख्नुहोस्