बैङ्क तथा वित्तीय संस्थाबाट पीडित भएको व्यवसायीको गुनासो
कास्की । बैङ्क तथा वित्तीय संस्थाका कारण निकै समस्या झेल्नु परेको गुनासो पोखराका व्यवसायीहरूले गरेका छन् ।
पोखरामा भएको बहस कार्यक्रममा व्यवसायीहरूले कर्जा र ब्याजको समय सीमा बढाउन सरोकारवालासँग आग्रह गरेका छन् ।

पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अध्यक्ष विश्वशंंकर पालिखेले आफू अस्वस्थ भएर अस्पताल बेडमा हुँदा समेत बैङ्कको फोनले पीडा दिएको बताउनुभयो ।
व्यवसायीलाई प्रताडित नबनाउन समेत उहाँले बैङ्क तथा वित्तीय संस्थालाई आग्रह गर्नुभयो । महानगरपालिकाले जग्गाको वर्गीकरण नगर्दा सम्पत्ति हुँदा पनि बेचबिखन गर्न समस्या भएको व्यवसायीहरूले बताएका छन् ।
पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बैङ्कबाट लिएको कर्जा आफूहरूले पर्यटन क्षेत्रमा नै लगानी गरेको स्पष्ट पार्दै ब्याजदरमा भएको वृद्धिका कारण पर्यटन व्यवसायी बढी मारमा परेको बताउनुभयो ।
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले कोभिडका समयमा राष्ट्र बैंंकले दिएको सुविधा समेत निजी बैंकले नदिएको गुनासो गर्नुभयो । उहाँले पर्यटन व्यवसायीलाई व्यवसाय पुनरुत्थानका लागि दिएको रकम समेत पर्यटन व्यवसायीले नपाएको भन्दै असन्तुष्टि जनाउनुभयो ।
नेपाल राष्ट्र बैङ्क गण्डकीका निर्देशक रामशरण खरेलले निर्यातमा कडाइ, बढ्दो रेमिटेन्स तथा पर्यटकहरूको आगमनमा भएको वृद्धिका कारण केही सहजता आउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्र बैङ्कले विभिन्न बैङ्क तथा वित्तीय संस्थामा नियमन गरिरहेको उहाँको भनाइ थियो ।








प्रतिक्रिया राख्नुहोस्