तपाईँ सुन्दै हुनुहुन्छः

करेन्ट लाग्दा एकको मृत्यु, एक घाइते

वीरगञ्ज । वीरगन्जमा टिपरले चुँडालेको बिजुलीको तार खसेर करेन्ट लाग्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।

करेन्ट लागेर पर्सा जिल्ला बहुदरमाई नगरपालिका ४ बहुअरी पिडारी निवासी ४५ वर्षीय नागेन्द्र प्रसाद यादवको मृत्यु भएको प्रहरीले जनाएको छ । करेन्ट लागेर घाइते भएका वीरगन्ज महानगरपालिका ३२ चोर्नीका १९ वर्षीय सिकेन्द्र प्रसाद यादवको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार सोमबार बिहान १० बजेतिर वीरगन्ज महानगरपालिका २२ ड्राईपोट्र–परवानिपुर सडकखण्ड स्थित जगरनाथपुर क्वालिटी धर्मकाटा छेउमा ना ८ ख ३८४९ नम्बरको टिपरले माटो खसालेर ब्याक गर्ने क्रममा विद्युतको तार चुँडिएर ना ४६ प ५५४२ नम्बरको मोटरसाइकलमा खसेको थियो ।

त्यस क्रममा करेन्ट लागेर मोटरसाइकल चालक नागेन्द्र र त्यसमा सवार सिकेन्द्र घाइते भएका थिए ।

दुवै जनालाई उपचारका लागि नारायणी अस्पताल लैजाने क्रममा नागेन्द्रको बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले जानकारी दिनुभयो । टिपरका चालक फरार भएकाले उनको खोजी भइरहेको गिरीले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button