तपाईँ सुन्दै हुनुहुन्छः

स्थिर सरकारबाट मात्रै विकास र समृद्धि : अध्यक्ष ओली

बलेवा । नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकारले मात्रै विकास र समृद्धिको कामलाई अघि बढाउन सक्ने बताउनुभएको छ ।  

नेकपा एमाले बागलुङले बागलुङको बुर्तिबाङ बजारमा आज आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार राष्ट्र निर्माणको सुदृढ शक्ति हुनुपर्नेमा जोड दिनुभयो । 

सरकार कमजोर हुँदा राष्ट्र निर्माणका काममा बाधा हुने उहाँको भनाइ थियो । एउटै दलको शक्तिशाली सरकारले जनचाहना अनुसारका विकास निर्माणका काम गर्न सक्ने उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीले नेकपा एमालेले आगामी मङ्सिर ४ गतेको निर्वाचनमा बहुमत प्राप्त गर्ने बताउनुभयो । “यो निर्वाचन देशको भविष्यसँग जोडिएको छ, एमाले मात्रै विकास गर्ने पार्टी हो, यहाँका जनताका समस्या एमालेले बुझ्ने छ”, अध्यक्ष ओलीले भन्नुभयो ।  

उहाँले एमाले पार्टी एक ढिक्का भएको बताउनुभयो । कुनै गुट उपगुट एमालेमा नरहेको भन्दै उहाँले पार्टी बिगार्न लागेकाहरू बाहिरिएपछि ढुक्क भएको टिप्पणी गर्नुभयो । 

अध्यक्ष ओलीले मङ्सिर ४ गतेपछि बन्ने एमाले सरकारले गुमेको नेपालको भूमि कूटनीतिक पहलद्वारा फिर्ता ल्याउने बताउनुभयो । 

“हिजो रेलका कुरा गर्दा हावादारी भन्थे, अहिले रेल चल्यो त, म आफै चढेर आएँ”, ओलीले भन्नुभयो, “अब पूर्व पश्चिम रेलमार्गको खाका एमालेले कोरेर देखाउँछ ।”

कार्यक्रममा बागलुङका प्रतिनिधिसभा तथा प्रदेशसभाका उम्मेदवारहरूले सम्बोधन गर्नुभएको थियो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button