तपाईँ सुन्दै हुनुहुन्छः

मकवानपुरका १९ मतदानस्थल अति संवेदनशील

मकवानपुर ।आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा मकवानपुरका १९ वटा मतदानस्थललाई अति संवेदनशील सूचिमा राखिएको छ । जिल्ला सुरक्षा समितिले निर्वाचन लक्षित सुरक्षा रणनीति बनाउने क्रममा १९ वटा मतदानस्थललाई अति संवेदनशील सूचिमा राखिएको हो ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार जिल्लाका १६७ मतदानस्थलमध्ये थप ६० वटा मतदानस्थल संवेदनशील र ८० वटा मतदानस्थललाई सामान्य सूचिमा राखिएको छ । प्रमुख जिल्ला अधिकारी पाण्डेले सुरक्षा संवेदनशीलताको आधारमा आवश्यक पर्दा नेपाली सेना, सशस्त्र र जनपथ प्रहरी परिचालन गरिने जानकारी दिनुभएको छ । यस्तै थप सुरक्षा व्यवस्थाका लागी जिल्लामा १ हजार ६९९ म्यादी परिचालन गरिने पनि प्रजिअ पाण्डेले बताउनुभयो ।

आगामी निर्वाचनका लागी मकवानपुरको दुईवटा संघीय र ४ वटा प्रदेश सभा क्षेत्रका लागी १६७ मतदानस्थल र ३६४ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यसअघि ३० वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा मकवानपुरमा १६५ वटा मतदानस्थल र ३५८ वटा मतदान केन्द्र रहेको थियो । स्थानीय तह निर्वाचन भन्दा यस पटक मकवानपुरमा ५ हजार ८०९ जना मतदाता थपिएसँगै मतदानस्थल र मतदान केन्द्र थप गरिएको बागमती प्रदेश निर्वाचन कार्यालय हेटौँडाका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।

मतपत्र लगायतका सामाग्री पठाउने तयारी हुँदै

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि मकवानपुरमा मतपत्रलगायत अन्य सामग्री पठाउने तयारी तीव्र पारिएको छ । मतदान केन्द्रमा पठाउने मतपत्र प्याकिङ गर्ने, शिल गर्ने लगायतका काम तीव्र रुपमा भइरहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन आयोगबाट मकवानपुरका लागि छुट्टिएर आएको प्रत्यक्ष तर्फको मतपत्र प्याक गरेर राख्ने काम भइरहेको बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो । उहाँका अनुसार अबको केही दिनमा मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिएर मतदान केन्द्रमा खटाइने भएकाले यसको लागि मतपत्र केन्द्रनै पिच्छे छुटाएर राख्ने काम भइरहेको हो ।

मकवानपुरका दश वटै स्थानीय तहका मतदान केन्द्रलाई चाहिने मतपत्र आइसकेको पोखरेलले बताउनुभयो । समानुपातिकको मतपत्र पहिलेनै आएको र प्रत्यक्ष तर्फको मतपत्र पनि हिजो हेटौँडा आइपुगेको उहाँले बताउनुभयो । मतपत्र र निर्वाचनका लागि आवश्यक सामाग्रीहरू तालिमपछि कर्मचारीलाई हस्तान्तरण गरिने उहाँले बताउनुभयो । निर्वाचनमा कर्मचारी खटाउने तयारी समेत अन्तिम चरणमा पुगेको उहाँले बताउनुभयो ।

मकवानपुरमा करिब ३ हजार कर्मचारी खटिने

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि मकवानपुरमा करिब ३ हजार कर्मचारी खटिने भएका छन् । जिल्लाको दुई निर्वाचन क्षेत्रमा ३६४ मतदान केन्द्रमा सुरक्षाकर्मी बाहेक करिब तीन हजार कर्मचारी खटिने बागमती प्रदेश निर्वाचन कार्यालयका प्रमुख लुम्बनाथ पोखरेलले जानकारी दिनुभयो ।

मकवानपुरका दुई निर्वाचन क्षेत्रमा ३६४ मतदान केन्द्र मध्ये निर्वाचन क्षेत्र नम्बर १ मा १६९ र क्षेत्र नम्बर २ मा १९२ मतदान केन्द्र रहेको छ । मकवानपुरमा अहिले ३ लाख ७३३ मतदाता रहेका छन् । जसमा प्रतिनिधितर्फ मकवानपुर क्षेत्र नम्बर १ मा १ लाख ५० हजार १५५ जना र मकवानपुर क्षेत्र नम्बर २ मा १ लाख ५० हजार ५७८ मतदाता रहेका छन् । प्रदेश क्षेत्रतर्फ क्षेत्र १ को (क) मा ७७ हजार ९८९ जना र (ख) मा ७२ हजार १६६ जना मतदाता रहेका छन् । यस्तै क्षेत्र नम्बर २ को (क) मा ८३ हजार ९९ जना र २ को (ख) मा ६७ हजार ४ सय ६९ जना मतदाता रहेका छन् । जिल्लामा ५ जना तेस्रो लिङ्गी मतदाता रहेका छन् ।

आगामी निर्वाचनका लागि मकवानपुरमा प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर १ मा १६ जना उम्मेदवार रहेका छन् । यस्तै क्षेत्र नम्बर २ मा १० जनाको उम्मेदवार रहेका छन् । प्रदेश सभातर्फ क्षेत्र १ को (क) मा १० जना र (ख) मा १५ जना उम्मेदवार रहेका छन् । क्षेत्र २ को (क) मा ८ जना र (ख) मा १० जना उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button