माइराम पोखरीको जग्गा अतिक्रमण खालि गर्ने अभियान सुरु
वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाले आदर्शनगरस्थित मकालु होटल पछाडि रहेको माइराम पोखरीको जग्गा अतिक्रमण गरेर निर्माण गरेका भौतिक संरचना हटाउने भएको छ ।

महानगरपालिकाले माइराम पोखरीको जग्गा भएको स्थानमा भएका संरचनाको निस्सा पेश गर्न सम्बन्धित व्यक्तिहरूलाई पत्र काटेर माग गरेको थियो ।
तर, दिएको समयमा एक जनाबाहेक कसैले पनि निस्सा पेश नगरेपछि महानगरको टोली आज सम्बन्धित व्यक्तिहरूको घरघरमा पुगेर २४ घण्टा भित्र निस्सा बुझाउन आग्रह गरेको छ ।
टोलीले अबको २४ घण्टाभित्र निस्सा नबुझाए पोखरीले ओगटेका जग्गामा बनेका संरचना महानगरले भत्काउने भन्दै तत्काल निस्सा बुझाउनुपर्ने नभए संरचना भत्काएर आफ्ना सामान सुरक्षित ठाउँमा राख्न अतिक्रमणकारीहरुलाइ आग्रह गरेको छ ।
महानगरले पठाएको पत्र अटेर गर्दै निस्सा नबुझाएकाहरूलाई नगर प्रहरी र नक्सा शाखाका कर्मचारी सहितको टोलीले आज घरघरमै पुगेर सम्झाउने काम गरेको र सोमबारबाट भने संरचना भत्काउन सुरु गरिने वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान सिंहले बताउनुभयो ।
महानगरपालिकाका नगर प्रमुख सिंहले झण्डै ४ बिगाहा क्षेत्रफलमा फैलिएको जग्गा अतिक्रमण भई १५ कट्ठामा सीमित भएको भन्दै अब पोखरी साबिकको अवस्थामा फर्किने दाबी गर्नुभयो । नगरप्रमुख सिंहले पहिलो चरणमा माइराम पोखरीबाट सुरु गरिएको अभियान यसपछि नगरका अन्य क्षेत्रमा अतिक्रमित सार्वजनिक जग्गा फिर्ता ल्याएर मात्रै सम्पन्न हुने बताउनुभयो ।
वीरगञ्ज महानगरपालिकाको नक्सा फाँटको तथ्याङ्क अनुसार मकालु होटल पछाडि रहेको माइराम पोखरीको जग्गा चार बिघा १३ कट्ठामा फैलिएको छ ।








प्रतिक्रिया राख्नुहोस्