तपाईँ सुन्दै हुनुहुन्छः

भक्तपुरमा नमुना मतदान 

भक्तपुर । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको लागि मतदातालाई शिक्षा दिने उद्देश्यले भक्तपुरमा नमुना मतदान सञ्चालन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय भक्तपुरद्वारा निर्वाचनको तयारी स्वरूप नमुना मतदान गरिएको हो ।

मतदानमा मुख्य निर्वाचन अधिकृत गोपालप्रसाद बास्तोला, भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति, उपप्रमुख रजनी जोशी, प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, भक्तपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्ण गिरी, जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डे, इन्द्रबक्स गण सूर्यविनायक ब्यारेकका सेनानी श्यामराजाविक्रम थापा, सशस्त्र प्रहरी बल गुहेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक नरबहादुर राउत, कार्यालय प्रमुखहरू, पत्रकार, नगरपालिकाका कर्मचारी लगायत सर्वसाधारण गरी ११० जनाले नमुना मतदान गरेका थिए ।  

भक्तपुर नगरपालिका परिसरमा भएको नमुना मतदानमा जिल्ला निर्वाचन कार्यालय र भक्तपुर नगरपालिकाका कर्मचारीहरूले मतदान कार्यमा मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारी तथा स्वयंसेवकको भूमिका निर्वाह गरेका थिए ।

यसक्रममा मतदाताहरूलाई लाइन बस्ने, छाप लगाउने, मतदान गर्ने लगायतका प्रक्रिया सिकाइएको थियो । सही मतदान होस् भन्ने आशयले सञ्चालित नमुना निर्वाचनमा एक जना मतदातालाई मतदान गर्न कम्तीमा दुई मिनेट समय लागेको थियो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button