तपाईँ सुन्दै हुनुहुन्छः

कन्याममा बन्यो स्काई टावर, सिसामाथि हिँड्न पाइने

इलाम । इलामको कन्याममा अब सिसामा हिँडेर मज्जा लिन पाईने भएको छ । कन्याम क्लाउड प्रालिमा आबद्ध १२ जना महिलाहरूको लगानीमा स्काइ वाकका लागि टावर निर्माण गरिएको छ ।

नयाँ साहसिक पर्यटकीय खेल एवं गन्तव्यको विकास भइरहेको समयमा नेपालमा पहिलो पटक स्काइ वाक सुरु भएको हो । वण्डर्स नेपालको प्राविधिक सहयोगमा निमार्ण भएको स्काइ टावरको आज आयोजित एक कार्यक्रमका बिच सूर्योदय नगर प्रमुख रण बहादुर राई, उपप्रमुख दुर्गा बराल, नायिका वर्षा राउत, गायिका एलिना चौहान लगायतले उद्घाटन गरेसँगै टावर औपचारिक रुपमा सञ्चालनमा आएको हो ।

३ स्टेपमा बनेको टावरमा दुई स्टेप चढेर माथि पुगेपछि त्यहाँ पारदर्शी सिसा जडान गरिएको छ । सिसामा उभिँदा आकाशमै उभिएजस्तो महसुस हुनेछ । हालसम्म ५ करोड बराबर रकम लगानी भएको र अब थप लगानी गरेर रेस्टुरेन्ट चिल्ड्रेन पार्क, स्विङ लगायतका अरू संरचना पनि निमार्ण हुने वण्डर ग्रुपका म्यानेजिङ डाइरेक्टर सोहन श्रेष्ठले जानकारी दिनुभयो ।

टावरको क्षमता एक पटकमा २२ जनासम्म भए पनि सुरक्षालाई ध्यान दिँदै एक पटकमा ८ जना सम्मलाई स्काई वाकको मज्जा दिलाइने परियोजनाका प्रबन्ध निर्देशन सञ्जीव रोकायाले जानकारी दिनुभयो ।

टावरबाट पूर्वी नेपालका १६ जिल्ला, कन्याम वरिपरिका चिया बगान, हिमाल, रमणीय डाँडाकाँडा, कञ्चनजङ्घा हिमालदेखि दार्जिलिङ सिलिगुढीसम्मका रमाइला दृश्य, सूर्योदय र सूर्यास्त समेत देख्न सकिने छ ।

टावरबाट भिडियो खिच्ने, ड्रोनबाट फोटो, भिडियो खिच्ने, सांस्कृतिक पहिरन लगाएर पनि फोटो खिच्न पाइनेछ । स्काइ वाक गर्ने पर्यटकको सुरक्षाका लागि स्विच कभर, चढेका व्यक्तिहरूको सङ्ख्या रेकर्ड राखिने र सुरक्षा गार्ड तथा कर्मचारीहरू पनि रहने साइड म्यानेजर अर्जुन चौधरीले जानकारी दिनुभयो ।

वन्डर्स नेपालको प्राविधिक सहयोगमा बनेको स्काइ वाक टावरको परिकल्पना पनि वन्डर्स नेपालले नै गरेको र तथा काठमाडौँ र धनकुटामा पनि स्काई वाक टावर लगायत निमार्ण भइरहेको वण्डर्स नेपालका म्यानेजिङ डाइरेक्टर श्रेष्ठले जानकारी दिनुभयो ।

स्काइ वाक टावरको सञ्चालन पनि महिलाले नै गर्नेछन र त्यहाँ अधिकांश कर्मचारी महिला नै राखिने गरी तालिम दिइसकिएको कन्याम क्लाउडका निर्देशक रिता भुषालले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button