तपाईँ सुन्दै हुनुहुन्छः

कृषि औजार कारखानाको मर्मत–सम्भार सुरु

वीरगञ्ज । वीरगञ्जको कृषि औजार कारखानाको मर्मत–सम्भार कार्य सुरु गरिएको छ ।

दुई दशक अघिबाट बन्द रहेको कारखानालाई महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रले पुनः सञ्चालनमा ल्याउने भएसँगै मर्मत कार्य र कारखानामा भएका सामग्रीको लागत सङ्कलन सुरु भएको हो ।

गत भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेपश्चात् आविष्कार केन्द्रले गत मङ्गलवारदेखि कारखानाको सरसफाइ र मर्मत सम्भार थालेको छ ।

वि.स. २०२४ साल फागुन २८ गते रुसको सहायतामा स्थापना भएको उद्योग सञ्चालनको जिम्मेवारी पाएको राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले कृषि औजार कारखानाले कृषि क्षेत्रलाई आवश्यक पर्ने तथा नयाँ औजार उपकरणको पनि आविष्कार गर्ने बताउनुभयो । उहाँले सरकारले आविष्कार केन्द्रलाई पूरै स्वामित्व नदिएको तर सञ्चालन गर्ने अधिकार प्रदान गरेको बताउनुभयो ।

उहाँले कारखानाको अवलोकन गर्दा कारखाना सञ्चालनका लागि सिभिल वर्कहरुको रिपेयर डाटा सङ्कलन गरेको बताउनुभयो । पुनले बिजुलीका वाइरिङ, कारखानास्थित मेसिनको अवस्थाका बारेमा जाँच भइरहेको जानकारी दिनुभयो ।

उहाँले रिनोभेसनका लागि कम्तीमा १० महिना लाग्ने बताउनुभयो । उहाँले दोस्रो वर्षमा किसानलाई चाहिने नयाँ कृषि औजारको उत्पादनमा जोड दिइने बताउनुभयो ।

अध्यक्ष पुनले कारखानालाई आधुनिकीकरण गरेर अघि बढ्न सके मात्रै कारखाना नाफामा जाने बताउनुभयो । पुरानै अवस्थामा कारखानामा सबै कृषि औजार उत्पादन गर्न नसके पनि एक वर्षभित्र १०–१५ किसिमका कृषि औजारहरू उत्पादन गर्ने लक्ष्य आविष्कार केन्द्रले राखेको बताउनुभयो ।

उहाँले आविष्कार केन्द्रले २–३ वर्ष भित्रमा पूर्ण क्षमतामा सञ्चालनमा ल्याउने र सकेसम्म ३ सिफ्ट नै सञ्चालन गर्ने लक्ष्य लिएर केन्द्र अघि बढेको बताउनुभयो ।

आविष्कार केन्द्र र सरकारबीच १० वर्षसम्म सञ्चालन गर्ने सहमति भएको यो कारखानाको सबै खर्च र स्वामित्व सरकारमा निहित रहने बताइएको छ । नाफामा लैजान सके केन्द्र र सरकारलाई बराबर भाग लाग्ने पनि सहमति भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button