तपाईँ सुन्दै हुनुहुन्छः

मान्द्रा बुनेर आम्दानी गर्दै, घर खर्च चलाउँदै   

सिन्धुपाल्चोक । उमेरले ७० कटेका फुर्बा ग्याल्बो शेर्पा हिजोआज मान्द्रा बुन्नमा नै व्यस्त हुनुहुन्छ । जिल्लाकै विकट मानिने सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा न १ लामिडाँडाका शेर्पा विगत एक महिनादेखि मान्द्रा बुन्न व्यस्त रहनुभएको छ ।   

घरमा नै आएर किसानहरूले मान्द्रा किन्न थालेपछि उहाँको व्यस्तता अहिले झन् बढेको छ । मान्द्रा बिक्री गरेर उहाँले घर खर्च मात्र टार्दै आउनुभएको छैन , आफ्ना छोराछोरीलाई सदरमुकाम चौतारा राखेर पढाउने खर्चको समेत जोहो गर्दै आउनुभएको छ ।

आम्दानीको अन्य स्रोत नभएको र मान्द्रा बुनाई नै आफ्नो आम्दानीको स्रोत भएको उहाँ बताउनुहुन्छ । धान बिटा लगाउने मौसम भएको कारण पनि यो मौसममा भकारी बनाउनका लागि मान्द्राको माग अत्यधिक हुने गरेको उहाँको भनाई छ । एउटा मान्द्रा तयार हुन झण्डै तीन दिन लाग्ने र एउटा मान्द्रा तयार भइसकेपछि २२ सयमा बिक्री हुने उहाँले बताउनुभयो । 

“अरू लगानी केही पनि छैन सीप भए पुग्छ” लामाले भन्नुभयो “मान्द्रालाई चाहिने निगालो स्थानीय जङ्गलबाट निःशुल्क उपलब्ध हुन्छ” ।

अरू बेलामा त्यति बिक्री नभए पनि कोदो र धान भित्र्याउने बेलामा मान्द्राको माग बढी हुने सोही वडाका कर्मा स्याङबो बताउनुहुन्छ ।  सिजनको बेलामा मान्द्रा बुनेर उहाँ आफै पनि बेच्नुहुन्छ । 

यहाँका अधिकांश स्थानीयले आलु खेती गर्दै आउनुभएको छ तर व्यावसायिक र आधुनिकीकरण हुन नसक्दा आलु खेतीबाट खासै यहाँका स्थानीयहरू आत्मनिर्भर भने हुन सकेका छैनन् ।  मकै र कोदो खेतीमा निर्भर रहँदै आएका यहाँका स्थानीयहरू बँदेल जस्ता जङ्गली जनावरले दुख दिँदा हैरानमा हुनुहुन्छ । हिमाली भेगका कारण अन्य कृषि जन्य उत्पादन नहुने र सीपमूलक काम पाए राम्रो स्रोत बन्न सक्ने फुर्बा ग्याल्बो शेर्पा बताउनुहुन्छ ।

गाउँपालिकाका अध्यक्ष रेशम स्याङ्बो भने यस क्षेत्रमा आलु खेतीको राम्रो सम्भावना भएको हुनाले आलु पकेट क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउनुहुन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button