तपाईँ सुन्दै हुनुहुन्छः

देउथली माझी बस्तीका मतदाताको आग्रह– हाम्रो पेसाको संरक्षण होस्

दोलखा । दोलखामा चुनावी अभियानको पारो उकालिँदै गर्दा कालिञ्चोक गाउँपालिका वडा नम्बर– ८ देउथली माझी बस्तीका माझी समुदायका मतदाताहरू मत माग्न आउने उम्मेदवारलाई आफ्ना समस्या सुनाउन आतुर देखिन्छन् । 

“समय अनुसार हाम्रो देउथली माझी बस्तीमा सडक, बिजुली, खानेपानी जस्ता विकासका पूर्वाधारहरू अगाडी बढेका छन्, तर हाम्रो पेशा भने केही वर्षदेखि सङ्कटमा परेको छ”, स्थानीय ६९ बर्षीय ढालबहादुर माझीले भन्नुभयो । 

माथिल्लो तामाकोसी आयोजना लगायतका जलविद्युत आयोजनाहरूले नदीका पानी थुनिदिने र अन्य समुदायका मानिस आएर करेन्ट लगाई माछा मार्ने गरेकाले आफूहरूको पेशा परेकोले मत माग्न आउने उम्मेदवारहरूलाई यही समस्या सुनाउने ढालबहादुरको तयारी छ । 

“हाम्रो मुख्य पेशा भनेकै तामाकोसी नदीमा जाल र लहरी प्रयोग गरी माछा मारेर बिक्री गर्नु नै हो तर जलविद्युत आयोजनाहरूले पानी थुनिदिने र अन्य समुदायका मानिसले करेन्ट लगाएर माछा पार्ने गरेकोले हाम्रो यो पेसामा सङ्कट भएको छ, त्यसैले उम्मेदवार वा राजनीतिक दलहरूले यसको व्यवस्थापन र विकल्प खोजिदिनुपर्‍यो”, ढालबहादुर माझीले भन्नुभयो ।

पेसाको संरक्षणसँगै गाउँपालिकाबाट देउथली माझी बस्तीसम्म जोड्ने सडकको सुधार पनि आवश्यक भएको उहाँको भनाई छ ।

माछा मार्ने पेशा सङ्कटमा परेपछि परिवार चलाउनै समस्या भएको बताउने स्थानीय कल्याणी माझी राजनीतिक दल र उम्मेदवारहरूले वैकल्पिक पेशा व्यवसायको लागि पहल गरिदिनुपर्ने बताउनुहुन्छ । 

“हरेक निर्वाचनमा उम्मेदवारहरू विभिन्न आश्वासन दिएर मत माग्दै जान्छन् र विजयी भएपछि फर्केरै आउँदैनन्”,उहाँले भन्नुभयो,“यो पटक हामीलाई वैकल्पिक पेशा व्यवसायको ग्यारेण्टी नगरेसम्म मत दिने पनि ग्यारेण्टी हुँदैन ।”

स्थानीय दृष्टिविहीन मतदाता दाजु–बहिनी कृष्ण माझी र पार्वती माझी आफूहरू सधैँ अभिभावकको भरमा पर्नुपरेको तर अहिले अभिभावकको पेसामा समेत सङ्कट भएपछि समस्या भएको बताउनुहुन्छ । 

“हामीले धूप बनाउने तालिम लिएका छौँ, हामीलाई मत माग्न आउने उम्मेदवार तथा राजनीतिक दलहरूले हाम्रो सीप अनुसारको व्यवसाय गर्ने वातावरण बनाई दिनुपर्‍यो”, दृष्टिविहीन कृष्ण माझीले भन्नुभयो । 

कालिञ्चोक– ८ को देउथली माझी बस्तीमा झण्डै ४२ घरधुरी रहेको छ । तीन सय ५० जनसङ्ख्या रहेको यो बस्तीमा झण्डै दुई सय मतदाता रहेको वडा अध्यक्ष बालकृष्ण (सूर्यबहादुर) आचार्यले बताउनुभयो । 

माझी बस्तीमा आवश्यक विकासका पूर्वाधार निर्माणको लागि कालिञ्चोक गाउँपालिका तथा वडाले सक्दो सहयोग गरेको उल्लेख गर्दै वडा अध्यक्ष आचार्य उनीहरूको पेशा संरक्षण र वैकल्पिक रोजगारीको लागि दल तथा उम्मेदवारहरूले पनि प्रतिबद्धता जनाउनुपर्ने बताउनुहुन्छ ।  

प्रतिक्रिया राख्नुहोस्

Back to top button