सल्यानमा गठबन्धनमा उत्साह, एमालेमा विरासत जोगाउने कसरत
सल्यान । एक मात्र निर्वाचन क्षेत्र रहेको सल्यानमा यतिबेला चुनावको रौनकता छाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनका लागि एकातिर सत्ता गठबन्धन र अर्कोतिर एमाले चुनावी मैदानमा छन् । आफूलाई शक्तिशाली भएको बताउने सत्तागठबन्धन र एमालेका उम्मेदवारबीच हुने प्रतिस्पर्धाबाट आउने नतिजाको जोड घटाउन हुन थालेको छ ।
२०७४ सालको निर्वाचनमा प्रतिनिधिसभाका लागि तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार माओवादीका टेकबहादुर बस्नेत ४० हजार ८९७ मत ल्याएर विजयी हुनुभएको थियो । नेपाली कांग्रेसका राजेन्द्र बहादुर शाहले २९ हजार ७६७ मत ल्याउनु भएको थियो ।
बस्नेत यस पटकको निर्वाचनमा उम्मेदवार बन्नु भएन भने प्रतिनिधिसभामा एकीकृत समाजवादीलाई भाग परेपछि शाह यतिखेर स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
२०७४ को चुनावमा राप्रपाबाट उम्मेदवार बन्नुभएका राजेन्द्र वीरय राय यस पटकको चुनावमा भने एमालेमा प्रवेश गरी प्रकाश ज्वालाको प्रतिस्पर्धी बन्नुभएको छ । राप्रपामा हुँदा रायले ६ हजार ५४ मत ल्याउनुभएको थियो ।
हालै सम्पन्न भएको स्थानीय तहको नतिजालाई हेर्दा सल्यानमा नेपाली कांग्रेस पहिलो, माओवादी केन्द्र दोस्रो र एमाले तेस्रो स्थानमा रहेका छन् ।
२०७४ को प्रदेशसभा क र ख मा एमालेको भाग परेको थियो । तर यसपालि गठबन्धनबाट (क) मा माओवादी केन्द्र र (ख) मा नेपाली काँग्रेसलाई भाग परेको छ । (क) मा सत्ता गठबन्धनबाट माओवादी केन्द्रका भीम प्रकाश शर्मा र एमालेबाट कुलबहादुर गिरीबीच चुनावी प्रतिस्पर्धा हुदैछ ।
२०७४ मा बाम गठबन्धनबाट एमाले गुलाब जङ्ग शाह १९ हजार ६५८ मत ल्याएर विजयी हुनु भएको थियो । नेपाली कांग्रेसका एकराज डाँगीले १० हजार ६१२ मत प्राप्त गर्नुभएको थियो । तत्कालीन स्थानीय तहको निर्वाचनको तथ्याङ्कलाई हेर्ने हो भने एमालेले प्रदेशसभा क मा एक उपाध्यक्ष बाहेक अन्य कुनै पदमा जित हात पार्न सकेको छैन । प्रदेश (क) मा बागचौर नगरपालिका, शारदा नगरपालिकाको वडा न ६,७,१४ र १५, बनगाड कुपिण्डे नगरपालिकाको वडा न १ देखि ७ सम्म, सिद्ध कुमाख, दार्मा, कुमाख गाउँपालिका रहेको छ । जहाँ नेपाली काँग्रेसले प्रमुख पदमा तीन र एक उपप्रमुख जीत हात पारेको छ । यस्तै माओवादी केन्द्रले दुई प्रमुख र दुई उपप्रमुखमा विजयी भएको छ ।
गत २०७४ को निर्वाचनमा प्रदेश सभा क बाट निर्वाचित बनेको गुलाब जङ्ग शाह भने यस पटक प्रदेश सभा (ख) मा आएर चुनाव लड्दै हुनुहुन्छ । (क) मा जित्ने सम्भावना कम भएपछि जितको सम्भावना देखेर उहाँले यस पटक ख रोज्नुभएको हो । शाहले गठबन्धनबाट शारदा नगरपालिकाका निवर्तमान मेयर सुरेश अधिकारीसँग प्रतिस्पर्धा गर्दै छन् ।
२०७४ को निर्वाचनमा तत्कालीन एमालेबाट प्रकाश ज्वालाले १९ हजार ८ सय ३६ मत ल्याएर विजयी हुनुभएको थियो । नेपाली कांग्रेसका डिल्लीराज रेग्मीले ११ हजार ६३० मत ल्याउनुभएको थियो ।
स्थानीय तहको निर्वाचनमा हेर्दा यस क्षेत्रमा छत्रेश्वरी र कपुरकोट गाउँपालिकामा एमाले, शारदा नगरपालिका, त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस र कपुरकोट गाउँपालिकाको प्रमुखमा समाजवादी र उपाध्यक्षमा माओवादी केन्द्रले जितेको छ ।
तीन उम्मेदवारमा ज्वाला, राय र शाह पुराना अनुसार हुनुहुन्छ भने शर्मा र गिरी नयाँ अनुहार हुनुहुन्छ ।
२०७४ को समानुपातिक मतलाई केलाउँदा नेपाली काँग्रेसले १९ हजार ६५३, एमालेले २३ हजार ४ सय ३९ र माओवादी केन्द्रले १६ हजार ४८ मत ल्याएका थिए । २०७९ को चुनावसम्म आइपुग्दा एमाले फुटेको छ ।








प्रतिक्रिया राख्नुहोस्