शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गराउन सुरक्षा निकायको भूमिका महत्त्वपूर्ण : मुख्यमन्त्री राउत

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले अगामी निर्वाचनलाई स्वच्छ तथा निष्पक्ष रुपमा सम्पन्न गराउनमा सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका हुने बताउनुभएको छ ।
गृह मन्त्रालय र मधेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा आज जनकपुरधाममा आयोजना गरिएको प्रदेश स्तरीय सुरक्षा गोष्ठीको उद्घाटन गर्नुहुँदै मुख्यमन्त्री राउतले पाँच वर्षमा हुने आवधिक आम निर्वाचनले मुलुकको भाग्य एवं भविष्य निर्माणका लागि दिशा निर्देश गर्ने भएकाले सुरक्षा निकायको भूमिका तटस्थ हुनुपर्ने बताउनुभयो ।

उहाँले सुरक्षा निकायले मुलुकको शान्ति सुरक्षा स्थापना गर्नमा खेलेको भूमिका महत्त्वपूर्ण भएको बताउँदै अगामी मङ्सिर ४ गतेको चुनाव शान्तिपूर्ण रुपमा सम्पन्न हुने आशा व्यक्त गर्नुभयो ।
विगतका चुनावलाई शान्तिपूर्ण रुपमा सम्पन्न गराउनमा सुरक्षा निकायको महत्त्वपूर्ण भूमिका भएकाले सफल भएको बताउँदै मुख्यमन्त्री राउतले यस पटकको चुनावमा पनि सुरक्षा निकायको भूमिका निष्पक्ष रहने आशा व्यक्त गर्नुभयो ।

मधेश प्रदेशका गृह तथा सञ्चार मन्त्री भरतप्रसाद साहको अध्यक्षतामा भएको कार्यक्रममा गृह सचिव विनोद प्रसाद सिंहले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको चुनाव निष्पक्ष रुपमा हुने आशा व्यक्त गर्नुभयो ।
कार्यक्रममा मधेश प्रदेशका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका जिल्ला प्रमुखहरू सहभागी रहनुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्