गठबन्धनका मुख्य तीन काम : नेता श्रेष्ठ

चितवन I नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संविधानको रक्षा, शान्ति सम्झौताका बाँकी काम पूरा गर्न र समृद्ध नेपाल निर्माणका लागि गठबन्धनको मुख्य तीनकाम भएको बताउनुभएको छ ।
गोरखा समाज चितवनले आज यहाँ आयोजना गरेको गोरखाको समग्र विकासको योजना तर्जुमा कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “संविधान र लोकतन्त्रमाथि खतरा बढेपछि बनेको यो गठबन्धनले देशका लागि धेरै काम गर्नुछ ।” गठबन्धनले निर्वाचन जितेर देशको विकासमा लाग्न आवश्यक रहेको बताउनुभयो । लोकतन्त्र, संविधान र प्राप्त उपलब्धिको रक्षा गर्दै जनताले अनुभूति गर्ने गरी विकास गर्नका लागि गठबन्धनको जित आवश्यकता रहेको उहाँको भनाइ थियो । शान्ति प्रक्रियाका केही अवशेष रहेको भन्दै उहाँले त्यसलाई पूरा गर्नका लागि गठबन्धन आवश्यक भएको बताउनुभयो । उहाँले भन्नुभयो, “द्वन्द्वपीडितका लागि आयोगले गर्नुपर्ने काम अझै बाँकी रहेको छ । त्यसका लागि गठबन्धनले काम अघि बढाउने छ ।”
जनताको अपेक्षाअनुसार काम हुन नसकेको बताउँदै श्रेष्ठले जनतामा निरासा पैदा हुँदा राष्ट्रियतामाथि खतरा हुने र राज्य असफल हुने बताउनुभयो । संविधान कार्यान्वयनको चरणमा रहेको बताउँदै उहाँले भन्नुभयो, “यो गठबन्धन निश्चित उद्देश्यका साथ बनेको छ । त्यो उद्देश्य पूरा गर्छ ।” रासस








प्रतिक्रिया राख्नुहोस्