तपाईँ सुन्दै हुनुहुन्छः

केही समयसम्म गठबन्धन रहन्छ– प्रधानमन्त्री देउवा

डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले केही समयसम्म सत्ता गठबन्धन कायम रहने बताउनुभएको छ । गृहजिल्लामा आयोजना गरिएको चुनावीसभालाई सम्बोधन गर्न डडेल्धुरा आइपुग्नुभएका नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले गठबन्धनको अपरिहार्यता अझै रहेको बताउनुभयो ।

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र मास्ने र संविधान च्यात्ने प्रयास थालेपछि पाँचदलीय गठबन्धन बनेको स्मरण गर्नुहुँदै उहाँले लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धन एक भएको बताउनुभयो ।

आजै गृहजिल्ला डडेल्धुरा पुग्नुभएका प्रधानमन्त्री देउवाले जिल्ला सदरमुकाममा आयोजना गरिएको गठबन्धनको चुनावीसभालाई सम्बोधन गर्नुभएको हो । सभामा उहाँले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालका साथै अन्य दलको सहयोगमा आफूले नचाहँदा पनि प्रधानमन्त्री बन्नुपरेको स्पष्ट पार्नुभयो ।

ओलीले सरकारको नेतृत्व गरिरहेकै बेला दुईपटक मध्यरातमा संसद् विघटन गरेको घटना, लोकतन्त्र र जनताको मर्म बुझ्ने गरी निर्माण भएको संविधानको बर्खिलापमा लाग्न थालेपछि माओवादी, समाजवादी, जनमोर्चा र अन्य मधेसवादी दलका नेतताको सहयोगमा आफूले नेतृत्व लिएको उहाँको भनाइ थियो ।

जनतालाई झुटा आश्वासन र गफका भरमा देशको गरिमा नै खतरामा पारिरहेको अवस्थामा ओलीको सर्वसत्तावाद र स्वेच्छाचारी प्रवृत्तिबाट मुक्त गर्न पाँचदलीय गठबन्धन गरी देशलाई हाँकिरहेको प्रधानमन्त्री देउवाले जिकिर गर्नुभयो । ‘त्यसैले यो गठबन्धन देशको आर्थिक समुन्नति र बेरोजागारीका साथै समृद्ध नेपाली नबनेसम्म रहिरहन आवश्यक छ’, उहाँले भन्नुभयो ।

उहाँले डडेल्धुराको विकासका लागि आफू सधैँ लागिपरेको जनाउनुहुँदै डडेल्धुरा–धनगढी चार लेन सडक निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । डडेल्धुरामा मेडिकल कलेजको काम अगाडि बढिसकेको स्मरण गराउनुहुँदै उहाँले पश्चिमसेती जलविद्युत् परियोजनाका लागि भारतसँग सम्झौता गरी काम अगाडि बढिसकेको जानकारी दिनुभयो । अन्य ग्रामीण सडक विस्तार र प्राविधिक शिक्षासँगै गुणस्तरीय शिक्षाका लागि पनि आफू लाग्ने उहाँले स्पष्ट गर्नुभयो ।

प्राचीन धरोहर र मौलिकता ओगटेका कुरालाई जोगाएर राख्नका लागि जिल्लावासीलाई प्रधानमन्त्री देउवाले आग्रहसमेत गर्नुभयो । स्थानीयस्तरमा बजार तथा गाउँका नाम परिवर्तन गर्दा मौलिकता हराउँदै गएको उहाँको भनाइ थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button