चुनाव प्रचारका क्रममा भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेमा कारबाही गरिने
जनकपुरधाम । धनुषामा चुनाव प्रचार प्रसारका क्रममा निर्वाचन आचारसंहिता विपरीत भारतीय नम्बर प्लेटको सवारी साधन प्रयोग गरेमा ठाउँको ठाउँ कारबाही गरिने भएको छ ।
निर्वाचनलाई निष्पक्ष तथा शान्तिपूर्ण रुपमा सम्पन्न गर्नका लागि त्यस्ता सवारी साधनलाई निगरानी गरेर कारबाही गर्न निर्देशन दिइएको धनुषाका मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिनुभयो ।
खास गरेर चुनावको प्रचार प्रसारका लागि तराई मधेसका जिल्लाहरूमा भारतीय नम्बर प्लेट भएको सवारी साधन अत्यधिक मात्रामा प्रयोग भएको र यसले सुरक्षा चुनौती बढ्ने खतरा भएको भन्दै जिल्ला निर्वाचन व्यवस्थापन तथा परिचालन समितिको बैठकले त्यस्ता सवारी साधनको प्रयोगमा निषेध गरेसँगै त्यस्ता सवारी साधन प्रयोग भएमा ठाउँको ठाउँ कारबाही गरिने भएको हो ।
प्रमुख निर्वाचन अधिकृत प्याकुरेलले विदेशी नम्बर प्लेटको गाडीको प्रयोग हुनु निक्कै चिन्ता तथा लज्जाको विषय भएको भन्दै त्यस्ता गाडीलाई चुनाव प्रचारमा प्रयोग गरेको पाइएको खण्डमा सुरुमा प्रयोग नगर्नका लागि अनुरोध गर्ने र नमानेमा नियन्त्रणमा लिएर कारबाही गरिने जानकारी दिनुभयो ।
तराई मधेसका जिल्लाहरूमा चुनाव प्रचारमा धेरै गाडीको सहभागिता गराउनका लागि सीमावर्ती क्षेत्रबाट सस्तोमा भाडा लिएर भारतीय नम्बर प्लेटको सवारी साधन अत्यधिक मात्रामा प्रयोग हुने गर्दछ ।








प्रतिक्रिया राख्नुहोस्