ब्लाष्ट रोगबाट मार्सी धान सखाप, आगो लगाउँदै किसानहरू
जुम्ला । तातोपानी गाउँपालिका ४ गौतम बाडाका किसानले भित्राउन लागेको मार्सी धानमा आगो लगाएका छन् । ब्लाष्ट रोग सङ्क्रमणले धान सखाप भएपछि किसानले धानखेतमा आगो लगाएका हुन् ।
धान भित्राउन खेतमा पुगेका तातोपानी ४ का किसान दिपक खत्रीले बाला नै नलागेको रित्तै खेत देखेपछि परालमा आगो लगाउनुभएको हो । “विगतका वर्षमा ५० किलोका १५/१६ बोरा धान उत्पादन हुन्थ्यो । खत्रीले भन्नुभयो,“ब्लाष्ट रोगले धानको बाला लागेको तर बोटमै कुहिएको भेटियो । चन्दननाथ ३ उन्नत जातको धान रोप्दा ४ बोरा मात्रै उत्पादन भयो । बाँकी सबै मार्सी धान सखाप भएपछि आगो लगाउन बाध्य भयौ ।”
ब्लाष्ट रोगको सङ्क्रमणले सयौँ मुरी खेतका धान सखाप भएपछि खेतमै आगो लगाउन किसान बाध्य भएका हुन् । किसान दिपक खत्रीले भन्नुभयो,“गौतम बाडाका करिब ५४ घरधुरीका किसानका भकारी यसपाली रित्तै छन् । जुम्लाकै सबैभन्दा ठुला खेत र धेरै धान उत्पादन हुने गौतम बाडा ज्युलोमा ब्लाष्ट रोगले उत्पादन शुन्यमा झार्यो ।”
घरमा गाईबस्तु हुनेले पराल ल्याएका छन् । घरमा गाईबस्तु नहुनेले आगो लगाएका हुन् । जुम्लाको मार्सी धान र सिमी प्रमुख बाली हो ।
गएको दुई महिना अघि नै गौतम बाडा ज्युलोको मार्सी धानमा ब्लाष्ट रोग लागेको सूचना आएको थियो । तर सम्बन्धित निकायले चासो नदिँदा अन्नतःकिसान खेतमै आगो लगाउन बाध्य भएको किसान पदम खत्रीको दुखेसो छ ।
यता तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौलागाईले गौतम बाडाका किसानको निवेदन प्राप्त भएको र पीडित किसानहरूको राहतका लागि पालिकाले पहल गर्ने बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्