तपाईँ सुन्दै हुनुहुन्छः

निर्वाचन आचारसंहिता कार्यान्वयनको अवस्था

निर्वाचन आचारसंहिता विरुद्ध कार्य गरेका ६५ भन्दा बढीसँग स्पष्टीकरण

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति नजिकिएसँगै निर्वाचन आयोगले आचारसंहिता कार्यान्वयनमा थप कडाइ गर्दै आएको छ ।

आयोगले हालसम्म निर्वाचन आचारसंहिताविरुद्ध कार्य गरेका ६५ जनाभन्दा बढीलाई स्पष्टीकरण सोधिसकेको छ भने आचारसंहिता पालना गर्न सबैमा आग्रह गर्दै उल्लङ्घनका उजुरी र सूचना प्राप्त भएमा थप अनुसन्धान र कारबाही गरिने पनि जनाएको छ ।

निर्वाचन आयोगले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि जारी निर्वाचन आचारसंहिता गत असोज १२ गतेदेखि नै लागु गरेको हो ।

आयोगले पहिलेदेखि नै बुँदागत रूपमै के के गर्न पाइने र के के गर्न नपाइने भनेर स्पष्ट पार्दा पार्दै पनि उल्लङ्घनका घटना भइरहेको र आचारसंहिता विरुद्ध विभिन्न उजुरी परेको जनाएको छ ।

यसरी हालसम्म आयोगमा १ सय ५० वटाभन्दा धेरै उजुरी परेकामा आयोगले ६५ वटा स्पष्टीकरण सोधिसकेको र उजुरीका आधारमा आयोगले लाभको पदमा रहेका, निर्वाचनका उम्मेदवार, स्थानीय जनप्रतिनिधि, शिक्षक तथा सरकारी कर्मचारी समेतलाई २४ घण्टाभित्र स्पष्टीकरण दिन बेग्लाबेग्लै पत्र समेत पठाएको जनाएको छ ।

तथ्यगत सूचनाका आधारमा उजुरी परेमा त्यस विषयमा अनुसन्धान र थप प्रमाण सङ्कलन गरी त्यसैअनुसार कारबाहीको प्रक्रिया थप अगाडी बढाइने भन्दै आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले सबैले आ आफ्नो क्षेत्रबाट आचारसंहिता पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, आचारसंहिता पालनाको अवस्था सुधारात्मक रहेको छ तर केही अनपेक्षित कुराहरू पनि भइरहेको छ, आचारसंहिता विपरीत कार्य गरेकालाई आयोगले स्पष्टीकरण सोधिरहेको छ सबैले आचारसंहिता पालना गर्नुपर्छ ।
निर्वाचनलाई स्वच्छ, शान्त र भयरहित वातावरणमा सम्पन्न गर्नका लागि बलियो रुपमा आचारसंहिता कार्यान्वयन गराउने दिशामा आयोग अगाडी बढेको छ । आचारसंहिता पालना गर्नु दल, उम्मेदवार तथा सबै नागरिकको कर्तव्य हो । लोकतान्त्रिक विधि र पद्धति अनुरुप सबै अगाडी बढेमा मात्रै यसको पालना गर्न गराउन सकिने हुन्छ ।

त्यसैले, उम्मेदवार तथा दलहरूले पनि निर्वाचन जसरी पनि जित्नुपर्छ भन्ने मानसिकता नराखी लोकतान्त्रिक प्रणालीको अबलम्बन गरेर आचारसंहिता अनुरुप के गर्न हुन्छ र के गर्न हुँदैन भन्ने कुराको आत्मसात गर्न सके मात्रै यसको पूर्ण रुपमा पालना हुने पूर्व प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेती बताउनुहुन्छ ।

उहाँ भन्नुहुन्छ, आयोगले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आचारसंहिता बलियो रुपमा लागु गर्ने कोसिस गरेको छ तर आयोगले जारी गरेर मात्रै हुँदैन यसको राजनीतिक दल, उम्मेदवार लगायत सबैले पालना गर्नुपर्छ ।

निर्वाचन आचारसंहिता, २०७९ को दफा ७ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहअन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले पालना गर्नुपर्ने आचरणअन्तर्गत खण्ड (क) मा ‘कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न हुन वा प्रचारप्रसार गर्न नहुने’ व्यवस्था छ भने निर्वाचन आचारसंहिताको दफा ४५ मा उम्मेदवार वा राजनीतिक दलले आचारसंहिता उल्लङ्घन गरेको पाइए जो कोहीले पनि उजुरी दिन सक्ने व्यवस्था छ ।

त्यसबाहेक सामाजिक सञ्जालमा देखापरेका सामग्री र सञ्चारमाध्यममा आएका समाचारहरूले आचारसंहिता कार्यान्वयनको अनुगमन गर्न सघाइरहेको आयोगले जनाएको छ ।

कोणसभा, आमसभा, र्‍याली, गोष्ठी, सेमिनार लगायतका गतिविधिलाई मध्यनजर गरी आचारसंहिता पालनाका लागि आयोगले विभिन्न संयन्त्रगत व्यवस्था गरेको र अनुगमनको पक्षलाई थप बढाउने जनाएको छ ।

निर्वाचन आचारसंहिताको सही रुपमा पालना हुन सक्यो भने सुशासनमा टेवा पुगेको मान्न सकिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button