चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री देउवा १७ गते डडेल्धुरा आउँदै
डडेल्धुरा । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गृह जिल्ला डडेल्धुरामा ८ चुनावी आमसभालाई सम्बोधन गर्ने यही १७ गते डडेल्धुरा आउनु हुने भएको छ । वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले आयोजना गरेको जिल्लाका सातवटै स्थानीय तहका सभालाई सम्बोधन गर्ने कार्यक्रम तय गरेको छ ।
१७ गते जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी सभालाई प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । उक्त कार्यक्रम दिउँसो साढे १२ बजे राखिएको छ । यस्तै कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र सोही दिनको दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ ।
यसैगरी प्रधानमन्त्री देउवाले १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाम र घरेलु बजारमा तथा सोही दिन दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको काँग्रेस डडेल्धुराका जिल्ला सभापति भीमबहादुर साउदले जानकारी दिनुभएको छ ।
देउवासँगै ती चुनावी आमसभालाई प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार खगराज भट्ट र प्रदेशसभा २ का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने जनाइएको छ । देउवा सातौँ पटक डडेल्धुराबाट निर्वाचन लड्दै हुनुहुन्छ । यसअघि २०४८, २०५१, २०५६, २०६४, २०७० र २०७४ मा भएका निर्वाचनमा डडेल्धुराबाट विजयी देउवा २०६४ मा कञ्चनपुर–४ र २०७० मा कैलाली–६ बाट पनि विजयी हुनु भएको थियो ।
२०४८ मा सांसद बनेपछि गृहमन्त्री हुनुभएका देउवा २०५१ को मध्यावधि निर्वाचनपछि बनेको मनमोहन अधिकारी नेतृत्वको सरकार अल्पमतमा परेपछि २०५२ सालमा पहिलोपटक प्रधानमन्त्री बन्नु भएको थियो । त्यसपछि २०५९, २०६१, २०७४, २०७८ मा गरी उहाँ अहिले पाँचौँ पटक देशको प्रधानमन्त्री हुनुहुन्छ । अहिले देउवाविरुद्ध लामो समय देउवाकै स्वकीय सचिव रहेका नेपाली कांग्रेस (बिपी) वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार एमालेका नेता विक्रम शाही र गुल्मीका युवा सागर ढकाल र लगायतका ८ जना उम्मेदवार चुनावी मैदानमा छन् ।








प्रतिक्रिया राख्नुहोस्