तपाईँ सुन्दै हुनुहुन्छः

अर्थमन्त्री र अमेरिकी राजदुतबीच भेट                            

काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्मासँग नेपालका लागि नवनियुक्त अमेरिकी राजदूत डिन आर.थम्प्सनले शिष्टाचार भेट गर्नु भएको छ ।
अर्थ मन्त्रालयमा मङ्गलवार बिहान भएको भेटमा अर्थमन्त्री शर्माले नेपाललाई सङ्कटका बेला गरेको सहयोगप्रति राजदूत थम्प्सनमार्फत् अमेरिकी सरकार र जनतालाई धन्यवाद ज्ञापन गर्नुभयो ।
‘अमेरिकाले नेपाललाई संकट परेका बेला महत्त्वपूर्ण सहयोग गर्दै आइरहेको छ’, अर्थमन्त्रीले भन्नुभयो । अर्थमन्त्री शर्माले नेपाललाई अहिले ठूला पूर्वाधारहरू आवश्यक भएकाले त्यसमा समेत अमेरिकी सहयोगको अपेक्षा रहेको बताउनुभयो ।
युएसएडलगायतका अमेरिकी नियोगहरूमार्फत नेपालमा निर्माण भइरहेका आयोजनाहरू सफलतापूर्वक सम्पन्न हुनेमा पनि मन्त्री शर्माले विश्वास व्यक्त गर्नुभयो ।
त्यस्तै नेपालले पर्यावरण सम्बन्धी समस्याहरू भोग्दै आइरहेको तर पनि ‘क्लाइमेट फन्ड’ को रकम प्रयोग गर्न नपाइरहेको भन्नुहुँदै अर्थ मन्त्री शर्माले त्यसमा अमेरिकी सरकारको तर्फबाट सहजीकरण गरिदिन आग्रह पनि गर्नुभयो ।
भेटमा मन्त्री शर्माले नवनियुक्त राजदूत थम्प्सनलाई उहाँको नेपाल बसाई सुखद होस् भन्नुहुँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गर्नुभयो ।
अर्थमन्त्री सँगको भेटमा नव नियुक्त अमेरिकी राजदूत थम्प्सनले अमेरिका नेपालमा उत्पादित विभिन्न वस्तुको निर्यातलगायतका क्षेत्रमा समेत सहयोग गर्न तयार रहेको बताउनुभयो ।
उहाँले नेपाल र अमेरिकाको द्विपक्षीय हितका लागि अमेरिकी सरकार कटिबद्ध रहेको बताउनुभयो । ‘नेपालको सामाजिक, आर्थिकलगायतका क्षेत्रमा सहयोग गर्न अमेरिका सदैव कटिबद्ध छ’, राजदूत थम्प्सनले भन्नु भयो । भेटका अवसरमा उहाँले नेपालसँग जोडिएर आफू काम गर्न सधैँ उत्सुक रहेको समेत बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button