तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पा क्षेत्र नंं २ मा गैरे र पाण्डेबीच रोचक भिडन्त

पाल्पा । आगामी मंसिर ४ गते हुने आम निर्वाचनमा पाल्पा क्षेत्र नंं २ बाट प्रतिनिधि सभा सदस्य पदको लागि नेकपा एमालेबाट ठाकुर प्रसाद गैरे र गठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका सोम प्रसाद पाण्डेबीच मुख्य प्रतिस्पर्धा हुने भएको छ । यहाँ दुई वामपन्थी नेता बीच कडा प्रतिस्पर्धा देखिएको छ ।
विगतका निर्वाचनमा पाण्डेको चुनावी मैदानमा मुख्य नेतृत्वको भूमिकामा रहने गैरे अहिले तिनै पाण्डेको प्रतिस्पर्धीको रुपमा रहेका छन् । ३० बर्ष देखीका सहकर्मी गैरे र पाण्डे एमालेको फुटपछि गैरे एमालेमै रहे भने पाण्डे नेकपा एसमा प्रवेश गरे । दुवै उम्मेदवार यतीबेला मत माग्दै जनताको घरदैलोमा पुगेका छन् ।
गैरे पहिलो पटक संसदीय निर्वाचन उत्रिएका छन् भने पाण्डे २०५१ साल देखी हाल सम्म ५ पटक उम्मेदवार भएकोमा ४ पटक  निर्वाचित भई संसदमा पुगेका छन् । पाण्डे २०६४ सालमा नेकपा माओवादीकी उम्मेदवार लिला सोमै सँग पराजित भएका थिए ।
पाल्पाली जनताको पक्षमा संसदमा कुरा उठाई नीतिगत रुपमा सम्बोधन गर्ने, पाल्पाका सडकहरू स्तरीय बनाउने, जिल्ला लाई पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने, कृषि पशुपालन क्षेत्रमा व्यवसायीकरण गर्दै, गाउँ गाउँमा स्वरोजगार अभियान चलाउने, जिल्लाका अपुरा योजनाहरू पुरा गर्ने,  नियमित रुपमा जनता माझ जाने कार्यक्रम बनाएको एमाले उम्मेदवार गैरेले बताउनुहुन्छ ।
पाल्पाको विकासमा २०५१ साल देखी नै प्राथमिकता दिएर काम गरेको, जिल्लाको पर्यटन विकासमा उपलब्धिमूलक काम गरेको, एमालेमा रहँदा सिद्धवावा सडकको सुरुङमार्ग निर्माणको लागी संसद् देखी सडकमा आवाज उठाएको, मदनपोखरा पोलीटेक्निकल आफ्नै पहलमा जिल्लामा आएको, तानसेनको पहिचान विश्वव्यापी बनाई पर्यटकीय गतिविधि बढाउन टाढा टाढा बाट देखिने गरी तानसेन होडिङ बोर्ड निर्माण गरेको, हार्थाेक देखी छहरा सम्मको बाटो विस्तार गरेको उम्मेदवार पाण्डेले बताउनुभयो ।
स्थानीय निर्वाचन २०७९ मा गठबन्धनले ३ वटा र एमालेले २ वटा पालिकामा जित हासिल गरेको छ । पाल्पा क्षेत्र नंं २ मा ४४ वटा वडामा १६ वडामा एमाले र २८ वटा वडामा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनमोर्चाको गठबन्धनले जित हासिल गरेको छ ।
पाण्डेलाई नेपाली काँग्रेसबाट अन्तर्घातको चिन्ता छ भने गैरेले सोही कारणबाट नेपाली काँग्रेसको केही मत आफ्नो पक्षमा पर्ने आकलन गरेका छन् । तर पाण्डे निकटहरू भने एमालेको ठूलो मत आफूहरूलाई आउने जिकिर गर्छन् । उता राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सोमप्रसाद गैरे काँग्रेसको आफ्नो उम्मेदवार नभएकाले काँग्रेसको धेरै मत चोर्ने दाउमा छन् । युवा उम्मेदवार भएकाले स्वतन्त्र पार्टीका गैरेले पाल्पा २ मा राम्रो मत ल्याउने आँकलन छ ।
पाल्पा क्षेत्र नम्बर २ बाट गठबन्धनका पाण्डे, एमालेका गैरे बाहेक जनता समाजवादी पार्टी नेपालका देवबहादुर हिस्की, राष्ट्रिय स्वतन्त्र पार्टीका सोमप्रसाद गैरे, राष्ट्रिय जनमुक्ति पार्टीका हुमबहादुर थापा मगर, नेपाल मजदुर किसान पार्टीका शिवसुन्दर भुख्वा, मङ्गोल नेसनल अर्गनाइजेसनका मनबहादुर दर्लामी, नेपाल आमा पार्टीका तारा बहादुर खत्री, जनता समाजवादी पार्टीबाट दुर्पता सोमई र स्वतन्त्र बाट उपेन्द्रराज गैरे र जीवलाल सुवेदी उम्मेदवार रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button