तपाईँ सुन्दै हुनुहुन्छः

संविधानको जग उखेल्न दिँदैनौँ : प्रवक्ता डा.महत

काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले संविधानको रक्षा र मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न आसन्न निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धन बनाइएको बताउनुभएको छ ।
ललितपुरमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको कार्यकर्ता प्रशिक्षण कार्यक्रममा आज उहाँले संविधानमा भएका कमी–कमजोरी सच्याउन परिमार्जनको आवश्यकता रहेको र आवश्यकताका आधारमा संविधानलाई परिमार्जन गर्दै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
“राष्ट्रिय सहमतिका आधारमा संविधान संशोधन गर्छौँ, तर संविधानको जग उखेल्न दिँदैनौँ”, प्रवक्ता महतले भन्नुभयो । उहाँले गठबन्धनका साझा उम्मेदवारलाई विजयी गराउन नेता–कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।
“ठूलो मेहेनतले बनाएको संविधानलाई ध्वस्त गर्ने चक्करमा नेकपा (एमाले)लागेको थियो, हामीले त्यसलाई रोक्यौँ, अहिले संविधानका विरुद्ध अनेकौँ प्रवृत्ति देखापरेका छन्”, उहाँले भन्नुभयो, “संविधानको उपलब्धिलाई खत्तम पार्न केही पक्ष लागिपरेका छन् । संविधानको रक्षा गर्न जरुरी छ ।”
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य जीतजङ्ग बस्नेतले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्न गठबन्धन बनाइएको उल्लेख गर्दै प्रतिनिधिसभा र प्रदेशसभाका साझा उम्मेदवारलाई विजयी गराउन सबैको भूमिका आवश्यक रहेको बताउनुभयो ।
ललितपुर क्षेत्र नं ३ प्रदेशसभाका उम्मेदवार द्वय राजकाजी महर्जन र जितेन्द्रकुमार श्रेष्ठले राजनीतिक स्थायित्व र आर्थिक सामाजिक रुपान्तरणका लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button